समाचार

आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस



काठमाडौँ, २ फागुन । आज १४ फेब्रुअरी, ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस मनाइदैछ ।

आज १४ फेब्रुअरीको दिनलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा पनि लिइन्छ । पश्चिमी देशहरुमा मनाइने प्रणय दिवसलाई पछिल्ला केही वर्षयता नेपालमा पनि उत्साहपूर्वक मनाउने गरिएको छ ।

आजको दिन आफूलाई मन परेका व्यक्ति र माया गर्नेलाई रातो गुलाफ र विभिन्न उपहार दिने चलन छ । ‘भ्यालेन्टाइन डे’ को सुरुवात सन् २६९ मा इटलीको रोमनबाट भएको मानिन्छ । सम्राट क्लाउडिअसले एक जोडीलाई विवाहमा प्रतिबन्ध लगाएपछि यस विरुद्ध उभिएका पादरी भ्यालेन्टाइनको बलिदानको सम्मानमा प्रणय दिवस मनाउने गरिएको हो ।

आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी सन् २६९ को फेब्रुअरी १४ तारिखमा मृत्युदण्डको सजाय दिएका थिए ।  प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा ‘भ्यालेन्टाइन डे’ का रूपमा मनाउन थालिएको हो ।