भक्तपुर, २ फागुन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले संयुक्त रुपमा बृहत खानेपानी अन्तरगतको ओभरहेड ट्याङ्कीको शिलान्यास गर्नुभएको छ ।
जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ४ मा सघन सहरी खानेपानी अन्तर्गत विनियोजित रु १ अर्बको लागतमा निर्माण गरिने उक्त आयोजनाको शिलान्यास गरिएको हो । सूर्यविनायक नगरपालिका वडा नं. ४ मा सञ्चालित दधिकोट सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १५ स्थानमा डिप वोरिङ्ग, ८ वटा ओभरहेड ट्याङ्की मध्ये सबैभन्दा ठूलो ४ लाख ५० हजार लिटर ओभरहेड ट्याङ्कीको आज विधिवत् रुपमा शिलान्यास गरिएको छ ।
मानविय आवश्यकता पूर्ति गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै नेता बस्नेतले भक्तपुरमा खानेपानीको समस्या समाधानको विभिन्न उपायहरु मध्ये उक्त आयोजना महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । अघिल्लो नेतृत्वले मेलम्ची खानेपानी आयोजनाको लागि भक्तपुरमा कुनै पहल नगरेका कारण विगतमा छुटेता पनि एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भक्तपुरमा मेलम्चीको खानेपानी पहिलो चरणमा ल्याउन सफल भएको उल्लेख गर्दै नेता बस्नेतले खानेपानीका चालु आयोजनाहरु निर्माण सम्पन्न भएपछि सूर्यविनायक नगरपालिकामा ५०औं वर्षसम्म खानेपानीको समस्या अन्त्य हुने दावी गर्नुभयो ।
गुण्डु, कटुञ्जे, बालकोट लगायतका ठाउँहरुमा ढलको समस्या समाधनको प्रकृया अगाडी बढिरहेको जानकारी गराउँदै उहाँले १७ हजार रोपनीमा सूर्यविनायकको गुण्डुदेखी बालकोटसम्म चार करोडको लागतमा स्मार्ट सिटीको लागि डिपीआर सम्पन्न भएको स्पष्ट पार्नुभयो । विष्णु पौडेलले स्मार्ट सिटीको लागि एक करोड बजेट समेत विनियोजन भएता पनि वर्तमान सरकारले बजेट कटौंती गरेको उल्लेख गर्दै उहाँले नीजि क्षेत्रसँगको सहकार्य गरी आधुनिक तथा वैज्ञानिक तवरले कार्य गर्ने हो भने राज्य तथा विदेशी लगानीको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नीजि क्षेत्रसँग मिलेर ल्याण्ड पुलिङको माध्यमबाट स्मार्ट सिटी बन्ने जसको लागि सरकारको ठूलो लगानी समेत आवश्यकता पर्दैन । विकास निर्माणको लागि विदेशी तथा सरकारको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गर्न नीजि क्षेत्र र स्थानीय तहसँगको सहकार्य अपरिहार्य रहेको छ ।’
कांग्रेसका नेताहरु हनुमन्ते नदीको करिडोर निर्माणलाई रोक्न अहोरात्र खटिरहेको उल्लेख गर्दै उहाँले उक्त करिडोरको लागि आएको बजेट फिर्ता गएमा जनताले कांग्रेसलाई नछाड्ने चेतावनी दिनुभयो । कार्यक्रममा बागमती प्रदेशका सांसद शसीजंग थापा तथा सूर्यविनायक नगरपालिकाका मेयर बाशुदेव थापा, वडा नं. ४ का वडाध्यक्ष उत्तम थापा, वडा नं. ७ का वडाध्यक्ष किरण थापा आयोजना प्रमुख, प्राविधिक ईन्जिनियरलगायतको उपस्थिति रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्