सम्पादकीय

सात दिन बाँकी रहँदा आयो लोकतान्त्रिक फोरमको यस्तो घोषणापत्र



काठमाडौं, २५ वैशाख । प्रत्येक गाउँलाई ‘स्मार्ट गाउँ’ बनाउने र ‘एक गाउँ एक उत्पादन’को लक्ष्यसहित नेपाल लोकतान्त्रिक फोरमले स्थानीय तह निर्वाचन–२०७४ का लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

पार्टी अध्यक्ष विजयकुमार गच्छदारले आइतबार पत्रकार सम्मेलन गरी ‘नमस्कार’ चिह्नमा मतदान, उम्मेदवारलाई विजय गराउने हाम्रो अभियानः स्थानीय तहलाई आत्मनिर्भर, सुशासित र जनमुखी बनाउने हाम्रो मुख्य अरमान’ मुख्य नारा रहेको प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

११ पृष्ठ लामो प्रतिबद्धतापत्रमा स्थानीय निर्वाचनमा लोकतान्त्रिक फोरमका उम्मेदवारलाई मत दिनुपर्ने कारण २६ बुँदामा राखिएको छ ।

प्रतिबद्धतापत्रमा प्रत्येक गाउँपालिका र नगरपालिकाका जनताको इच्छा, प्राथमिकता, व्यावसायिकता र सम्भाव्यतालाई ध्यानमा राखी स्मार्ट गाउँ बनाउने उल्लेख छ ।

उदाहरणका रूपमा कुखुरा गाउँ, बंगुर गाउँ, खसी गाउँ, पशुपालन गाउँ, गाई गाउँ, तरकारी गाउँ, आलु गाउँ, उखु गाउँ, स्याउ गाउँ, सुन्तला गाउँ, आँप गाउँ, केरा गाउँ, फलफूल गाउँ आदि बनाइने उल्लेख गर्दै प्रतिबद्धतापत्रमा सो व्यवसाय गर्न स्थानीय तहबाट विशेष आर्थिक र प्राविधिक सल्लाह र सहुलियत उपलब्ध गराउन अग्रणी पहल गर्ने, गाउँका युवाहरूका लागि फ्री वाइफाइजोन बनाउने योजना समेटिएको छ ।

त्यस्तै, स्थानीय सरकारले कृषि क्षेत्रको वैज्ञानिकीकरण गरी उत्पादन र उत्पादकत्व बढाउने, व्यापारीकरण र व्यवसायीकरण गरी कृषि उपजलाई बजारसँग जोड्ने, कृषि क्षेत्रमा विद्युतीकरण र जैविक मलको प्रयोगमा जोड दिने, सिँचाइ र शीतभण्डार (कोल्डस्टोर) व्यवस्था गर्नेलगायतका प्रतिबद्धता लोकतान्त्रिक फोरमले जनाएको छ । ग्रामीण र सहरी क्षेत्रमा साना तथा मझौलास्तरका कृषि र वनमा आधारित उद्योग निर्माण गर्ने एवं प्रत्येक नगरपालिका क्षेत्रभित्र चक्रपथको निर्माण गर्ने योजना पनि सो पार्टीको छ ।

स्थानीय स्तरमा डिजिटल प्रणाली सञ्चालनार्थ इन्टरनेट सेवा उपलब्ध गराउने, इभिलेजको निर्माण गर्ने, नेपालको आफ्नै सेटेलाइट निर्माणमा प्रयत्नशील रहँदै ग्रामीण भेकका जनतालाई सहर बजार, राजधानी र विदेशसित समेत जोड्दै घरघरमा विज्ञान प्रविधिको व्यापक उपयोगमा जोड दिने लोकतान्त्रिक फोरमले बताएको छ ।

त्यस्तै, स्थानीय स्तरमा साना र मझौलास्तरका जलविद्युुत् गृहहरूको निर्माण गरी आगामी पाँच वर्षभित्र घरघरमा बिजुली पु¥याउने र दश वर्षभित्र दश हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य उसको छ । पर्यटन क्षेत्रको विकास, पर्यापर्यटनमा प्राथमिकता, रज्जुमार्ग र लाइओभर मार्ग निर्माणलाई पनि चासो दिएर लोकतान्त्रिक फोरमले प्रतिबद्धतापत्र निर्माण गरेको छ ।

आठ प्रदेशको संघीय संरचना बनाउने

तराई मधेसमा आन्दोलनमार्फत उठाइएका न्यायपूर्ण माग सम्बोधन गर्ने गरी संविधान संशोधन गर्न गराउन पार्टी लागिरहने भन्दै प्रतिबद्धतापत्रमा गणितको मतमा संविधानको घोषणा भएदेखि संविधान संशोधनको कुरा उठाइरहेको उल्लेख छ । संविधान कार्यान्वयन हुन संविधान संशोधन आवश्यक रहेको उसको भनाइ छ ।

संघीयताको विषय छिनोफानो गर्न आठ प्रदेशको प्रस्ताव एउटा अचुक उपाय रहेको फोरमले उल्लेख गरेको छ । ‘सोह्रबुदे सहमतिको एउटा बुँदा देशमा आठ प्रदेशको संघीय संरचना थियो । त्यहाँ आठौँ प्रदेशका रूपमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुर मिलाइ बनाउने उल्लेख थियो ।

आठ प्रदेशमा कैलाली र कञ्चनपुरलाई थरुहट प्रदेशमा राख्ने समझदारीसमेत थियो । तर, ती सबै सहमति र समझदारीलाई उल्लंघन गरेर पुराना दलहरू विशेष गरी कांग्रेस र एमालेले घुमाउरो तथा षड्यन्त्रकारी तरिकाबाट संघीय ढाँचा निर्माण गरेकाले द्वन्द्वको स्थिति कायम भएको उसको दाबी छ ।