राजनीति

सूर्यविनायक नगरपालिकाद्वारा पाँच आयोजनाको अनुगमन



भक्तपुर, १३ फागुन । सूर्यविनायक नगरपालिकाद्वारा नगरपालिका क्षेत्रभित्र गरिएका विकास आयोजनाको स्थलगत अनुगमन गरिएको छ । संघीय सरकार र प्रदेश सरकारद्वारा प्राप्त बजेटमा नगरपालिकाले समेत गरेको लगानी तथा नगरपालिकाले मात्र लगानी गरिएका वडा नंं. ८ ९ र १० का आयोजनाहरुको अनुगमन गरिएको छ । विकास र समृद्धिको यात्रामा देशकै नमुना नगरपालिकाको रुपमा पहिचान बनाउन सफल भएको सूर्यविनायक नगरपालिकामा स्रोत साधन तथा बजेटलाई भरपुर सदुपयोग गर्ने गरेको छ ।

राष्ट्रिय सञ्चार केन्द्रको आयोजनामा नगरपालिकाको सहयोगमा नगरपालिका उपप्रमुख जुना बस्नेत, वडा नं. ८ का वडाध्यक्ष किरण थापा, ९ का वडाध्यक्ष उपेन्द्र केसी, १० का वडाध्यक्ष शिव राउत, नगरपालिकाका निर्देशक जनक न्यौपाने, नगरपालिकाका कर्मचारी, स्थानीयवासी तथा पत्रकारहरुको टोलीले अनुगमन गरेको छ । विगतमा नगरपालिकाको अवस्था तथा वर्तमान जनप्रतिनिधि आएपछि जनताले के कस्तो सुविधा प्राप्त गरिरहेका छन् ? भन्ने विषयमा जानकारी गराउन अनुगमन गरिएको बताइएको छ । जनताको माग र आवश्यकतालाई ध्यानमा राखी तीनै तहको सरकारको लगानीमा गरिएका आयोजनाहरुको वास्तविकता नगरवासीमा पुर्याउन जरुरी रहेको उल्लेख गर्दै विकास विरोधी तत्वहरुलाई कामले जवाफ दिएको दावी गरिएको छ । आगामी दिनमा आवश्यकताका आधारमा नगरपालिका क्षेत्रभित्र भएका आयोजनाहरुको सत्य तथ्य जानकारी गराउने उल्लेख गर्दै अनुगमन तथा त्यसको जानकारीको साथमा सूचना सम्प्रेषणलाई नगरपालिकाले उच्च प्राथमिकता दिने बताइएको छ ।

आठ करोड ५० लाखको लागतमा वडा नं. ८ स्थित जगाती इटा टायल कारखानाको २५ रोपनी क्षेत्रफलमा निर्माण गरिएको सूर्यविनायक नगर अस्पतालको अनुगमन गरिएको छ । २०७७ साल मंसिर १६ गते शिलान्यास गरिएको उक्त अस्पताल फागुन ७ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । ‘नगर अस्पतालले नगरवासीको लागि मात्र नभई छिमेकी जिल्लाहरुका नागरिकलाई समेत स्वास्थ्य क्षेत्रमा विशेष सहयोग पुग्नेछ’ वडाध्यक्ष थापाले भन्नुभयो, ‘सेवा सुविधा तथा शुल्क नेपाल सरकारले तोकेको मापदण्ड अनुसार नै हुने छ ।’

तीनै तहको सरकारको लगानीमा निर्माण गरिएको उक्त अस्पतालमा आफ्नै अस्सिजन प्लान्ट रहेको छ भने अस्पताल अपाङ्गतामैत्री तथा वालवालिकामैत्री रहेको छ । नेपाल सरकारले तोके अनुसार स्वास्थ्य विमा रु ३५ सयले गर्ने गरेकोमा नगरवासीलाई ध्यानमा राखी नगरपालिकाले रु एक हजार व्यहोर्ने गरेको जस अनुसार नगरवासीले रु २५ सयमात्र तिरे स्थास्थ्य विमा हुने वडाध्यक्ष थापाले जानकारी दिनुभयो । अस्पताल जम्मा ३७ वेडको रहेकोमा एचडियु, आइसियुलगायतका सुविधाहरु समेत रहेको जानकारी गराउँदै अस्पतालको संयोजक डा. मोनिषा कार्कीले निकट भविष्यमा नै अस्पतालमा अत्यावश्यक सेवै सेवाहरु प्रवाह गर्ने बताउनुभयो । अस्पतालमा भेन्टिलेटरसहित ४ शैय्याको आईसीयू, १० शैय्याको एचडीयू, १३ साधारण, १० शैय्याको आकस्मिक कक्ष रहेको उहाँले जानकारी दिनुभयो ।

उद्घाटनको पर्खाइमा रहेको वडा नं. १० को अनुगमन गरिएको छ । एक करोड ६८ लाखको लागतमा निर्माण गरिएको वडाध्यक्ष राउतले जानकारी दिनुभयो । आगामी २१ गते नगरप्रमुख बाशुदेव थापाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै संघीय सरकारबाट प्राप्त ६७ लाखको लागतमा ८ मिटरको चौडाई भएको त्रिवेणी खोलाको पक्की मोटरेवल पुलको अनुगमन गरिएको छ ।

जिल्लाकै महत्वपूर्ण पर्यटकीय तथा धार्मिक गन्तव्यको रुपमा रहेको केदारनाथको शिर डोलेश्वर मन्दिरको पनि अनुगमन गरिएको छ । भक्तपुरको विकास र समृद्धिको मेरुदण्डको रुपमा हेरिएको उक्त मन्दिर गुरु योजना सहित आधुनिक तथा व्यवस्थित तवरले पुनः निर्माण भइरहेको छ । उक्त मन्दिरले जिल्लाको धार्मकि क्षेत्रको विकास मात्र नभई पर्यटकीय गन्तव्यको रुपमा स्थापीत गरि आर्थिक वृद्धिदर गर्ने एक महत्वपूर्ण क्षेत्रको रुपमा हेरिएको छ । हाल २५ रोपनी क्षेत्रफलमा गरुयोजना बनाई निर्माण भइरहेको वडाध्यक्ष थाापले जानकारी दिनुयभो । ‘व्यवस्थित पूर्वाधारका साथ धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्षका साथ काम अगाडी बढाइएको छ’ अध्यक्ष थापाले भन्नुभयो, ‘पुनः निर्माण गर्दा हालसम्म रु १२ करोड खर्च भइसकेको छ । दाता, भेटी तथा तीन वटै तहको सरकारको सहयोगमा निर्माण कार्यलाई तिव्रता दिइएको छ । निर्माण सम्पन्न भएपश्चात जिल्लाको मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा परिणत हुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

जननिर्वाचित भएको पहिलो वर्ष नगरपालिकाले ११ लाख, दोस्रो वर्ष २० लाख र तेस्रो वर्ष एक करोड तथा स्थानीय पूर्वाधार विकास कोष (सांसद विकास कोष–महेश बस्नेत)बाट, प्रदेश सरकारबाट २५ लाख बजेट प्राप्त भई निर्माण गरिरहेको बताइएको छ । त्यस्तै मन्दिर निर्माणको लागि स्थानीय समाजसेवी कृष्ण गोपाल श्रेष्ठबाट रु दुई करोड तथा पदम पौडेलबाट ७० लाख बजेट सहयोग प्राप्त गरेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । अतिथि सदन, पञ्चायन गृहलगायतका मन्दिरमा आवश्यक पर्ने अन्य धेरै कुराहरु गुरु योजनामा समेटेर अगाडी बढाइएको अध्यक्ष थापाले जानकारी दिनुभयो । त्यस्तै मन्दिर निर्माण गर्न विरदल गण (नेपाली सेना)का कर्नेल शिव पौडेलले समेत विशेष सहयोग गर्नुभएको थियो ।

त्यस्तै वडा नं. ८ मा ४ लाख २० हजार लिटर क्षमताको खानेपानी टेङ्कीको अनुगमन गरिएको छ । ५६ लाखको लागतमा निर्माण गरिएको उक्त आयोजनामा नगरपालिकाले रु ३० लाख बजेट व्इवस्थापन गरेको थियो । बाँकी २६ लाख भने सिपाडोल खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट सञ्चालित सहकारीबाट ऋण लिई उक्त टेङ्की निर्माण गरिएको थियो । समितिका अध्यक्ष रत्नप्रसाद छुकालका अनुसार उक्त आयोजनाबाट मात्र ८०० घर परिवारलाई खानेपानी वितरण गरिएको छ । अझै ४०० भन्दा बढी खानेपानीको धारा माग भएको जानकारी गराउँदै उहाँले माथिल्लो बेल्डमा २४ सै घण्टा पानी वितरण भइरहेको साथै बाँकीमा भने तीन तीन घण्टाका दरले वितरण गरिएको जानकारी दिनुभयो । ट्याङ्की थप्न सके माग अनुसारको खानेपानी वितरण गर्न सकिने उहाँको भनाई रहेको छ ।

वडा नं. ८ मा आफु निर्वाचित भएपछि १९ सयभन्दा बढी नयाँ घर बनेको जानकारी गराउँदै वडाध्यक्ष थापाले हालसम्म १५ सयभन्दा बढीलाई खानेपानीको धारा वितरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिपाडोलमा खानेपानीको स्रोत प्रशस्त रहेको छ । पाइपलाईन लगायतका कुराहरु व्यवस्थापन गर्न समस्या रहेको छ । ३० लाखको लागतमा डिपबोरिङको समेत कार्य सम्पन्न गरिएको छ ।’ उहाँका अनुसार उक्त उपभोक्ता समितिको नाममा ४ रोपनी १० आना जग्गा समेत रहेको छ ।

अनुगमनका क्रममा उपप्रमुख बस्नेतले आफ्नो पाँच वर्षे कार्यकालमा नगरपालिकालाई व्इवस्थित बनाउन सफल भएको दावी गर्नुभयो । तीन वटै तहका सरकारको समन्वयमा नगरपालिकाभित्र १८ वटा पुल, ३७ वटा विद्यालयको पक्की भवन, ७२ किलोमिटर सडक कालोपत्रे, १९ वटा सामुदायीक भवन, २५ वटा मन्दिर बनाएको जानकारी दिनुभयो । नगरपालिकाले शिक्षा, स्वास्थ्य, यातायात, रोजगारलगायतलाई लक्षित कार्यहरु गरिरहेको उल्लेख गर्दै उहाँले नगरपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरु नगरको आर्थिक, पर्यटकीय तथा समृद्धिको आधार भएको बताउनुभयो । नगरपालिकाले पर्यटकीय क्षेत्रको विकास र पूवद्र्धन गर्नको लागि शिव सर्किटको योजना अगाडी बढाइरहेको उल्लेख गर्दै उहाँले प्राणी उद्यान, उपत्यकाकै सवैभन्दा लामो झोलुङ्गे पुल, हनुमन्ते करिडोर निर्माण लगायतका असंख्य योजनाहरु नगपालिकाभित्र भइरहेको बताउनुभयो ।