राजनीति

केन्द्रमा जस्तै स्थानीय तहमा पनि भ्रष्टाचार महारोग बन्यो: अध्यक्ष लिङ्देन



ललितपुर, २८ फागुन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रमा जस्तै स्थानीय तहमा पनि भ्रष्टाचार बढिरहेको दावी गर्नुभएको छ ।

शुक्रवार ललितपुरको चापागाउँमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचार देश विकासको मुख्य बाधकको रूपमा रहेको र यो महारोगको रूपमा देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस, एमाले, माओवादी दलीय रूपमा मात्रै अलग हुन्, ठूला-ठूला भ्रष्टाचारका काण्डमा तीन दलको मिलेमतो र संरक्षण रहेको छ । केन्द्रमा रहेको भ्रष्टाचारको महारोग स्थानीय तहमा पनि व्याप्त रहेको छ ।’

राप्रपाले आसन्न स्थानीय निर्वाचनमा स्थानीय तहको भ्रष्टाचारलाई प्राथमिकताका साथ उठाउने उल्लेख गर्दै उहाँले देशको विद्यमान समस्याको समाधान सामान्य टालटुल गरेर नहुने भन्दै प्रणालीमा आमूल सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।