राजनीति

अहिलेको सरकार बालुवामा राखेको नक्कली मुला : अध्यक्ष ओली



काठमाडौँ, २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार जरा बिनाको मुला भएको बताएका छन् । आज नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले अहिलेको सरकार सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने दिन कुरिरहेको बताए ।

उनले भने, ‘यो गभर्मेण्टलाई ठिक छ कि छैन तपाईहरुले धेरै छुट्याउने होइन, यसलाई ठिक हामी लगाइहाल्छौँ नि । यो केही होइन, मुलाको पनि अलिकति सानोतिनो भएपनि जरा हुन्छ, यसको त, जरा न फरा पाँच जनाले नियुक्त गरेको छ । केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ । बालुवामा लगेर राखेको नक्कली मुला यसो एकछिन बालुवामा राखेजस्तो हो यो । फुत्त तान्दा जरो सरो केही पनि छैन, हल्लाउनु पनि पर्दैन पुक्लुक्क आउँछ । हामी खाली यसलाई तान्ने दिन खोजिरहेका छौँ । भाग्न खोजिरहेको छ । भागेर कहाँ जान्छ, जान्छ, चुनाव त गर्नैपर्छ ।’