म्याग्दी, २९ फागुन । म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटवासीले २०५७ सालमा म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको कर तिर्दै आएका छन् । बगरफाँटस्थित ढलेबगरको विराउटा भन्ने ठाउँमा अहिले म्याग्दी नदी बगिरहेको छ । नदी बगेको ठाउँभन्दा पारीपट्टी बेनी – ६ को डम्मरासम्म फैलिएको विरौटाको अहिले नामोनिसान छैन । जग्गा नभएपनि जग्गाधनी पूर्जा कामयमै रहेकोेले हुँदै नभएको जग्गा र आफूले उपभोग गर्नै नमिल्ने ठाउँको समेत कर तिर्न वाध्य हुनुपरेको बेनी २ का ओमवहादुर थापाले जानकारीदिए ।
उनका अनुसार स्थानीयवासी हिराबहादुर घिमिरे,भक्तवहादुर घिमिरे,ओमवहादुर थापा,कृष्णवहादुर थापा लगाएत ८ व्यक्तिहरुले मालपोत कर तिर्दै आएका छन् । पहिला जग्गा (खेत,बारी र घर) भएको ठाउँमा अहिले नदी बगेको र आफ्नो जग्गा भएको ठाउँ बेनी – ६ डम्मरामा नदीको बगरमा परिणत भएको स्थानीयवासी थापाले बताए । “हाम्रो जग्गा अहिले डम्मरामा पर्छ, नदीको बगरमा परिणत भएको छ” उनले भने “जग्गाधनी प्रमाणपूर्जामा हाम्रो नाममा छ,वर्षेनी मालपोत कर तिर्दै आएका छौं,तर हाम्रै जग्गाको नदीजन्य पदार्थहरु हामीले प्रयोग गर्न पाउँदैनौं,हामीमाथि अन्याय भएको छ ।” २०५७ सालमा सो नदीमा आएको भीषण बाढीले जग्गा बगाएको थियो । यसयताका २१ वर्षसम्म जग्गाधनीहरुले नियमितरुपमा मालपोत कर तिर्दै आएका जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका प्रमुख कृष्णवहादुर कार्कीले जग्गा नभए पनि जग्गाधनी प्रमाणपत्रमा जग्गा कायमै रहेको देखिएकोले जग्गाधनीले कर तिर्दै आएका जानकारी दिए ।स्थानीयवासीले सो जग्गालाई सार्वजनिक जग्गामा दर्तागरी मालपोत कर कट्टा गर्न आग्रह गरेका छन् । बगरफाँट गाउँ पहिरो र नदी कटानको जोखिममा पर्दै गएको छ । २०५७ सालदेखि म्याग्दी नदीले कटान गर्न शुरू गरेको बगरफाँटमा रहेका २०० घरधुरी वर्षाको समयमा गाउँको शिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा नदीको कटानबाट वर्षेनि त्रसित हुने गरेका छन् । म्याग्दी नदीको कटान नियन्त्रणका लागि नदी किनारमा ग्याबिन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुंगा र लेदोसहित उर्लिएर आउने बाढी नियन्त्रण हुन नसकेको स्थानीयले बताएका छन् । “गाउँ जोखिममा छ, शिरानबाट खस्ने पहिरो र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै ढुक्कसँग सुत्न सकिँदैन, कतिबेला के हुन्छ भन्ने त्रास रहिरहन्छ,” नदी कटानबाट गाउँलाई जोगाउन वर्षेनी तटबन्धको पहल गर्दै आउनुभएका स्थानीय समाजसेवी नारायण कार्कीले बताए । नदीको कटानका कारण बगरफाँटको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमीन क्षय भइसकेको र नदी कटानको समस्या अझै बढ्दै गएको स्थानीय वुद्धिजीवी तथा म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष समेत रहेका कार्कीले जानकारी दिए ।
बेनी –३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्न सके केही मात्रामा गाउँ सुरक्षित रहने उनको भनाइ छ । गाउँको शिरानमा रहेको विशाल पहिरो नियन्त्रणका लागि स्थानीय तहको प्रयासले मात्र नहुने भएकाले प्रदेश वा संघबाटै ठूलो योजना आवश्यक पर्ने देखिएको छ । तर, समस्याको समाधान नभएकाले यसले सदरमुकाम बेनी बजार समेत प्रभावित हुने अनुमान गरिएको छ । पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषि उपजका लागि उर्वर फाँट रहेको बगरफाँट साँघुरिँदै गएको छ । आप्रे र उडाइनो छहराको बीचबाट खस्ने पहिरोका कारण गाउँको शिरानमा रहेको जंगल र बस्ती मासिने खतरा बढेको जनाइएको छ । पहिरोले गाउँ कुरूप बन्दै गएको र पाँच घरपरिवार बसाइ सरिसकेको स्थानीय टेकबहादुर कार्कीले जानकारी दिए । रासस










प्रतिक्रिया दिनुहोस्