काठमाडौं, २६ वैशाख । ३१ वैशाखमा हुन लागेको पहिलो चरणको स्थानीय तह निर्वाचनमा विजयी बन्न उमेदवारहरू मतदाताको घरदैलोमा छन् । सबैजसो उम्मेदवार आफ्ना पार्टीका घोषणापत्रअनुसारको प्रतिबद्धता जनाएर हिँडिरहेका छन् । तर, अधिकांश मतदाता भने निर्वाचनमा कसरी मत दिने भन्नेमै अन्योलमा देखिन्छन् ।
दलहरूले मतदान गर्न सिकाउनेभन्दा एजेन्डामा सहमत गराउन लागिपरेका कारण मतदाताहरू मत कसरी दिने भन्ने अन्योलमा परेका हुन् । दलका सबैजसो नेताले आएर भोट मागे, स्वस्तिक लगाएको चिह्न पनि देखाए । तर, किन सातजनालाई मत हाल्नुपरेको र मन परेको उम्मेदवार कसरी छान्ने भन्ने विषयमा कसैले भनेनन्,’ चन्दागिरी नगरपालिकास्थित संगम टोलकी माया श्रेष्ठको गुनासो छ ।
मतदातामा यस्ता अन्योल देखिएपछि स्वयंसेवकमार्फत ठाउँठाउँमा मतदानको तरिका सिकाउन थालेको आयोगले जनाएको छ । उसले ती स्वयंसेवामार्फत आफ्ना प्रतिनिधि चयन गर्न सात पदका लागि सात ठाउँमा छाप लगाउनुपर्ने सिकाइरहेको छ ।
निर्वाचन आयोगले तयार पारेको मतपत्रमा दलहरूको संख्या धेरै र स्वतन्त्र हैसियतमा दलका तर्फबाट समेत उल्लेखनीय उम्मेदवरी परेपछि मतदाताले यसअघि भएका निर्वाचनमा भन्दा बढी ठाउँमा छाप लगाउनुपर्ने भएको हो ।
आयोगले तयार पारेको मतपत्रअनुसार कुनै एक मतदाताले आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न एक लहरमा रहेका कुनै एक चिह्नमा मतदान गर्दै सात पदका लागि सातै कोठामा राखिएका चिह्नमा स्वस्तिक छाप लाउनुपर्नेछ । यसरी छाप लगाउँदा एकै पदका लागि मात्र नभई फरकफरक पदमा सात चिह्नमा छाप लाउनुपर्ने र सो मत बदर नहुने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।
‘स्थानीय तह चुनावमा एकजना मतदाताले एउटा मतपत्रभित्रका सात कोठामा रहेका चिह्नमा सातै छाप लाउनुपर्छ, त्यसरी छाप लाउँदा एकै पदमा नभई फरकफरक पदमा लाउँदा त्यो मत सदर मत मानिन्छ ।’ शर्माले भने ।
मतदाताले मतदान गर्दा एक लहरबाट एक चिह्नमा मात्र छाप लाउँदा सहज हुने शर्माले बताए । मतपत्रमा सात उम्मेदवारका लागि आठवटा चिह्न भए पनि मतदाताले छाप भने सातवटा मात्र लगाउनुपर्छ । मतपत्रको अन्तिम कोलमभित्र दुईवटा चिह्न देखेर दुई छाप लगाए सो मत बदर हुन्छ ।
सूर्यप्रसाद शर्मा प्रवक्ता , निर्वाचन आयोग
उनका अनुसार एक जना मतदाताले आफूले मतपत्रमा लगाएको छापबाट सातजना प्रतिनिधि छनोट गर्न सक्छन् । यसरी मतदान गर्दा मतदाताले अध्यक्ष वा प्रमुखलाई एक मत दिन पाउँछन् भने उपाध्यक्ष वा उपप्रमुखलाई पनि एक मत नै दिन पाउँछन् ।
यस्तै, वडा अध्यक्षका लागि एक, महिला वडा सदस्यका लागि एक, दलित महिला वडा सदस्यका लागि एक र वडा सदस्य दुईजनाका लागि एकै कोलमभित्र रहेको एउटा चिह्न र अर्का सदस्यका लागि दुईवटा चिह्न रहेको कोठामा मतदान गर्न पाउनेछन् । यसरी मतदान गर्दा कुनै पनि एउटै पदमा नभई फरकफरक पदमा छाप लाउँदा सो मतलाई सदर मत मानिने निर्वाचन आयोगले बताएको छ ।
मतदाताले खुलातर्फका सदस्यलाई मत दिँदा भने विशेष ध्यान दिनुपर्नेछ । किनकि, पहिलो खुला सदस्यका लागि एउटा मात्र चिह्न छ भने दोस्रो उम्मेदवारका लागि दुईवटा चिह्न छन् । चिह्न दुईवटा भए पनि मतदाताले भने एउटा मात्र स्वस्तिक छाप लगाउनुपर्नेछ । दुईवटा चिह्न देखेर स्वस्तिक छाप पनि दुईवटै लगाए सो मत बदर हुने निर्वाचन आयोगले जनाएको छ ।
‘मतपत्रमा सातजना उम्मेदवारका लागि आठवटा चिह्न भए पनि मतदाताले छाप भने सातवटा मात्र लगाउनुपर्छ, अन्तिमका दुई चिह्न देखेर दुई छाप लगाए त्यो मत बदर हुन्छ यसमा विवेक पु¥याउनुपर्छ,’ प्रवक्ता शर्माले भने । राजधानीमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्