राजनीति

आगामी निर्वाचनमा प्रचण्ड, माधव, उपेन्द्रलगायतका शक्तिहरुको पत्तासाफ हुनेछ: सांसद बस्नेत



भक्तपुर, १ चैत । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालमा विभिन्न संघर्षको नाममा अतिवादी शक्तिहरुको आयु समाप्त भएको दावी गर्नुभएको छ ।

काठमाडौँ–पर्सा सम्पर्क मञ्चको आयोजनामा आज भक्तपुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता बस्नेतले १० वर्षे सशस्त्र जनयुद्धको नाममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र उयादवलगायतका दल तथा व्यक्तिहरुको अतिवादी सोचको अन्त्य भएको बताउनुभयो । युद्धको नाममा जातीय युद्ध चर्काउन खोज्ने प्रचण्ड, यादव लगायतका नेतृत्वहरुको राजनीतिक अस्थित्व समाप्तीको बाटोमा गएको उहाँले दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पाँच वर्ष अगाडी मधेश जागरण अभियान लिएर एमाले जाँदा एमालेलाई निषेध तथा केपी ओली विनाको मधेष घोषणा गर्ने अतिवादी सोचका केही पार्टीको नेता तथा कार्यकर्ताहरुले एमालेको कार्यकर्तामाथि ढुङ्गा वर्षाएको दिन सम्झीरहेको साथै उक्त समयमा कतिपय दुःखद् घटनाहरु समेत घटेको थियो । मुलुकमा अतिवादी शक्तिहरुको आयु लामो हुँदै भनेर केपी ओलीले भन्नुभएको थियो । कम्युनिष्ट पार्टीको नाममा आतंकवादी तथा सामाजिक फाँसीवादी शक्तिहरुको जन्मने र हुर्कने समय १० वर्षको हुन्छ । साथै टिक्ने र अर्को सकिने समय १० वर्ष हुन्छ भनि केपी ओलीले भन्नुभएको थियो । वामपन्थी र उग्रवामन्थीवादी शक्तिबिच भिन्नता के हुन्छ भनि प्रश्नमा केपी ओलीले बन मान्छे र मान्छेको भिन्नता जस्तै भएको अभिव्यक्ति दिनुभएको थियो । उनीहरुलाई मान्छे बनाउने अभियानमा केपी ओली लाग्नुभयो । पार्टी एकिकरण गराएर भविष्यको प्रधानमन्त्री, पार्टी अध्यक्ष दिन्छु भनेर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भन्दा समेत उहाँलाई कुकुरलाई घ्यु पच्दैन भने जस्तै भयो ।’

प्रचण्ड र माधवले आफ्नो राजनीतिक अस्थित्व जोगाउन कांग्रेसका पुच्छर बनेर हिडिरहेको आक्रोस व्यक्त गर्दै नेता बस्नेतले आगामी निर्वाचन पनि सूर्य चिन्हको माना खाएर कांग्रेसको गाना गाउने, कम्युनिष्ट पार्टीको सरकार शेरबहादुर देउवाको पाउमा पुर्याउने, अदालतमा सेटिङ मिलाउने प्रचण्ड र माधव नेपालको पत्ता साफ हुने दावी गर्नुभयो । प्रदेशमा एमालेको पक्षमा जनलहर चलाउँदै एमाले मय बनाउने उद्घोष गर्दै उहाँले अबको केही समयमा नै तराईका जिल्लाहरुको हजारौंको संख्यामा एमालेमा प्रवेश गराउने तयारी भइरहेको समेत जानकारी गराउनुभयो ।

एक मधेश एक प्रदेशको गुलियो नारा दिँदै हिड्ने अर्को अतिवादी शक्ति रहेको उल्लेख गर्दै उहााले नागरिकताको समस्याको बारेमा क्रान्तिकारी कुरा गर्ने तर समाधान गर्न नदिने जसपाको अतिवादी सोचको अन्त्य हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मधेशको विकास गर्न, नागरिकताको समस्या समाधान गर्न, मधेषमा हुलाकी मार्ग, पूर्व पश्चिम राजमार्गको स्तरउन्नती, मदन भण्डारी राजमार्ग, औद्योगिक ग्राम, रेलमार्ग, पानी जहाज मार्ग, भेरी बबई सिँचाई आयोजना, मरिन कोशी डाइभर्सन आयोजना, लुम्बिनी एयरपोर्ट लगायतका असंख्य कामहरु गरी केपी ओलीले मधेषको विकास र समृद्धिको यात्रालाई आधुनिकतामा रुपान्तरण गर्नुभयो । केपी ओली माथि तराईमा छरिएको भ्रम हट्यो । केपी ओलीले मधेशमा गर्नुभएको विकास र जनताको पक्षमा भएका कामहरुले उपेन्द्र यादव जस्ता नेताहरुको लाजको टालो खोलिदियो । उपेन्द्रको योजनामा प्रचण्डको माध्यमबाट राज्यव्यवस्था समितिमा वर्तमान मन्त्री शशी श्रेष्ठको माध्यमबाट नागरिकता विधेयक रोक्ने कार्य भएता पनि केपी ओली नेतृत्वको सरकारले अध्यादेशबाट भए पनि नागरिकताको समस्या समाधान गर्ने नेतृत्व एमालेले गरेको ।’

पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले वडाध्यक्ष चौहान, समाजवादी विद्यार्थी युनियनका मुख्यसचिव राकेश महतोदेखि ८० वर्षीया ठगिया देवी पासवानसम्मलाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो । कार्यक्रमको लागि पर्साबाट ८ वटा गाडीमा नवप्रवेशीहरु एमालेका अध्यक्ष ओलीको गृहजिल्लामा नै आएर पार्टी प्रवेश गरेका हुन् ।