Banner News

साना दललाई पनि चुनाव चिह्न दिने



काठमाडौँ, ३ चैत । निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता नपाएका ७३ साना राजनीतिक दललाई चुनाव चिह्न दिने भएको छ। बुधबार बसेको आयोगको बैठकले जिल्लामा सक्रिय रहेको आधारमा चुनाव चिह्न दिने निर्णय गरेको हो।

चुनाव चिह्न लिन चाहने दलले आफू सक्रिय रहेको जानकारी आयोगको केन्द्र र जिल्लामा गराउनुपर्नेछ। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ बमोजिम राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेका दलका उम्मेदवारबाहेकले सोही दलको चुनाव चिह्न पाउने भएका छन्।

चुनाव चिह्नका लागि आयोगले गरेको पत्रचार अनुसार विवरण भने पेश गर्नुपर्ने भएको छ। आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ७५ अनुसार चुनाव चिह्नका लागि दललाई पत्राचार गर्ने निर्णय गरेको हो । ‘आयोगबाट राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका तर स्थानीय तह निर्वाचन २०७९ मा भाग लिन दर्ता भएका ७३ राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ७५ बमोजिम पत्राचार गर्ने निर्णय गरेको छ’, आयोगको विज्ञप्तिमा भनिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।