सम्पादकीय

कसरी जुर्यो यस्तो अपवित्र सम्बन्ध ?



काठमाडौं २६ वैशाख । फरक विचारधारा, सिद्धान्त र उद्धेश्य बोकेका प्रमूख दलहरूबीचको गठबन्धनले राजनीतिक धु्रवीकरण मात्र होइन राजनीतिमा अपवित्र संस्कारको थालनी गरेको छ ।

स्थानीय कार्यकर्ताको भावना र चाहाना विपरित नेपाली कांग्रेसले सत्तारूढ प्रमुख घटक माओवादी केन्द्रसँग गरेको गठबन्धनले पार्टी भित्रको असन्तुष्टि छताछुल्ल हुन थालेको छ। विचार, सिद्धान्त, कार्यशैली र उद्धेश्य फरक बोकेको दलका उम्मेदवारलाई मत हाल्न कार्यकर्ता हिच्किचाए पनि पार्टी नेतृत्वले जबर्जस्ती गर्दा असन्तुष्टि सार्वजनिक हुन थालेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको ठाडो आदेशमा भरतपुर महानगरपालिकामा कांग्रेसको तर्फबाट प्रमूखमा उम्मेदवार बनेका दिनेश कोइरालालाई उम्मेदवारी फिर्ता गरी माओवादी केन्द्रकी प्रमूख पदकी उम्मेदवार प्रचण्ड पुत्री रेणु दाहाललाई सघाउन भनेपछि असन्तुष्टि चुलिनुलाई दुई पार्टीबीचको समिकरणलाई अपबित्र भनिएको छ ।

विगतमा तिनै माओवादीबाट घरबारबिहिन भएका, आफन्त गुमाएका र अंगभंग भएका कांग्रेसका कार्यकर्ता र शुभेच्छुुकहरू यतिवेला माओवादीलाई भोट हाल्नु भन्दा खाली छाड्ने, रूखमै मत हाल्ने वा माओवादीको सट्टामा प्रमुख प्रतिपक्षी एमालेका उम्मेदवारलाई भोट हाल्नेसम्मका विकल्पमा छलफल गर्न थालेका छन्।

माओवादीले विगतमा थालनी गरेको सशस्त्र जनयुद्धबाट सबैभन्दा बढी मारिएका, घाईते बनाइएका, घरजग्गा कब्जा गरिएका र घाईते बनाइएका व्यक्ति कांग्रेसीहरू नै भएकोले उनीहरूले माओवादीलाई भोट हाल्न नसक्ने तर्क गर्न थालेका छन् ।

कांग्रेस एक्लैले निर्वाचनमा प्रतिष्पर्धा गर्न पार्टी केन्द्रीय कार्य समिति बैठकमा नेताहरूले सुझाव दिए पनि नेतृत्वको हठधर्मिताका कारण पार्टीका तल्लो तहका कार्यकर्ताको भावनाको कदर नभएको गुनासो गर्न थालिएको छ ।

साम्यवाद लक्ष्य राखेको, जातिय पहिचानको आधारमा राज्य संरचना परिवर्तन गर्न खोजेको र बहुदलिय प्रतिष्पर्धालाई खुड्किलो मात्र बनाएको माओवादीलाई संसदीय सर्वोच्चता, न्यायीक स्वतन्त्रता र बहुदलिय प्रतिष्पर्धामाम विश्वास गर्ने कांग्रेसले समिकरण वा गठबन्धन गर्नुलाई आम कार्यकर्ताले अपवित्र भनेर टिप्पणी गरेका छन् ।

मओवादीका सांसद महेन्द्रबहादुर शाही भन्छन्,‘हिजो जनयुद्धको समयमा जसकाविरूद्ध लडियो उनैलाई भोट हाल भनेर निर्देशन दिए पनि कार्यकर्ता मान्ने वाला छैनन्। विगत १० बर्षे जनयुद्ध कालमा माओवादीको सबैभन्दा बढी तारो बनेका कांग्रेसका कार्यकर्ता यति छिटै त्यो आलो घाउ बिर्सिएर माओवादीलाई भोट हाल्ने पक्षमा छैनन् ।’

कांग्रेस साझा पहिचानको आधारमा राज्य पुनसंरचना गरी सबै समुदाय र वर्गको उत्थान गर्न पूँजीपति आर्थिक नीति अबलम्बन गर्न चाहन्छ । तर त्यसका बिपरित माओवादी साम्यवादको लक्ष्य प्राप्त गर्न एकल जातिय पहिचानको आधारमा बहुल जातिय पहिचानलाई छायाँमा पार्दै केन्द्रीकृत राज्य कायम गर्न चाहन्छ। पार्टी संचालनमा केन्द्रीय नेतृत्व प्रधान हुने माओवादीसँग मासबेसमा आधारित संगठन परिचालन गर्ने कांग्रेसको गठबन्धन यसै कारणले पनि अपवित्र बन्न पुगेको छ ।

पूर्ण रूपमा हिंसाको अन्त्य गरी शान्तिपूर्ण खुल्ला राजनीतिक प्रतिष्पर्धामा विश्वास गर्ने कांग्रेसले शक्ति आर्जनको लागि जस्ता सकै क्रियाकलाप जायज ठान्ने माओवादीसँगको एकता कसरी सम्भव हुन्छ? यता, राष्ट्रवादको नाममा यथास्थितिवादी, पुरातनवादी, केन्द्रीकृत राज्य प्रणाली स्थापनाको लागि हिन्दु अधिराज्यसहित संवैधानिक राजतन्त्रको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गणतन्त्र, संघीयता र लोकतन्त्रवादी वैचारिक शक्तिको रूपमा रहेको नेकपा एमालेले साझेदारी वा गठबन्धन गर्नु पनि त्यतिकै अप्राकृतिक र गैर राजनीतिक मानिन्छ ।

बहुदलीय खुल्ला राजनीतिक प्रतिष्पर्धालाई स्वीकार गर्ने एमालेले राजतन्त्रको मुद्धा बोक्दै गणतन्त्रकाबिरूद्ध लागेको राप्रपासँग गठबन्धन गर्नुलाई राजनीतिक रूपमा क्षम्य मान्न सकिँदैन्।
पञ्चायतकाल भरी ३० बर्षसम्म धेरै कम्युनिष्ट पार्टीले संघर्ष गरे, प्रजातन्त्रको लागि राजाको सक्रिय शासन कालमा पनि गणतन्त्र, धर्म निरपेक्षता र संसदीय सर्वोच्चताको पक्षमा वकालत गरेको एमालेले पूर्वपञ्चहरूको बाहुल्यता रेको राप्रपासँग गठबन्धन गर्नुलाई कार्यकर्ताले रूचाएका छैनन्।

एमालेले काठमाडौं महानगरमा आफ्नो पार्टीको उपप्रमुखको उम्मेदवारलाई उम्मेदवारी दर्ता फिर्ता गर्न लगाएर राप्रपालाई सघाउनुलाई धेरै कार्यकर्ताल अनुचित समेत भनेका छन्। एमालेले राप्रपासँग कांठमाडौंमा मात्र होइन, हेटौंडा लगायतको नगरमा समिकरण गरिसकेको छ।

पञ्चायतकाल भरी पञ्चविरूद्ध संघर्ष गरेका र पञ्चायती शासन कालमा १० बर्ष बढी जेल परेका दर्जनौं एमाले नेताहरू असन्तुष्ट बनेका छन्। एमालेलाई राप्रपासँगको यो गठबन्धनबाट गणतन्त्र र संघीयता बिरोधी पार्टीसँगको समिकरणले पार्टी वैचारिक रूपमा कमजोर बनाउन खोजेको आरोप लाग्ने गरेको छ ।

कांग्रेस र माओवादीको सत्ता गठबन्धनले निर्वाचनमा समेत निरन्तरता पाउने देखे पछि प्रमुख प्रतिपक्षी एमालेले राप्रपासग गठबन्धन गर्नुलाई अपबित्र र अप्राकृतिक बनेको निष्कर्ष कार्यकर्ताले नैं निकाल्ने गरेका छन्। भोलीका दिनमा यसले स्थानीय कार्यकर्ताको मनोवल बढाउने भन्दा घटाउने निश्चित छ । दलहरूको यो गठबन्धनले आदर्श, नीति र सिद्धान्त भन्दा पनि पद प्रतिष्ठा अनि शक्ति आर्जन गर्ने लक्ष्य देखिन्छ । जनप्रहार साप्ताहिकमा समाचार छ ।