राजनीति

एमालेले जितेका महानगर र उपमहानगरमा एकीकृत समाजवादीको दाबी



काठमाडौँ, ५ चैत । ०७४ मा एमालेले जितेका महानगरपालिका र उपमहानगरपालिकामा गठबन्धनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले टिकट पाउनुपर्ने अडान राखेको छ ।

आगामी वैशाख ३० गते एकै चरणमा हुने ७५३ स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय दलबीच गठबन्धनको प्रयास भइरहेको छ । चुनावी रणनीति र सम्भावित तालमेल तथा उपयुक्त उम्मेदवारको खोजीमा प्रायः सबै दलहरू लागेका छन् । देशभरका ७५३ स्थानीय तहमध्ये ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकाको नेतृत्व कसले हत्याउला भन्ने चासो बढ्दै गएको छ । जसमा एकीकृत समाजवादीले महानगर र उपमहानगरमा टिकट पाउनुपर्ने अडान राखेको छ ।

चुनावी मिति नजिकिँदै गर्दा प्रायः सबैजसो राजनीतिक दलहरू उचित उम्मेदवारको खोजी गर्दै ती तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिसहित गाउँ–गाउँमा पुगेर समग्र अवस्थाको रिपोर्टिङ लिने र जीतको कसरतलाई तीव्रता दिइरहेका छन् । यसक्रममा काँग्रेस, एमाले, माओवादी केन्द्र र जसपाले महानगरपालिकाको हकमा पार्टी केन्द्रबाटै उम्मेदवार छान्ने नीति सार्वजनिक गरिसकेका छन् ।