Banner News

निर्वाचन ‘राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिका लागि कम्फर्टेबल’का बीचमा हुँदैछ : अध्यक्ष ओली



काठमाडौँ, ९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको निर्वाचन जनादेश र परमादेशबीचको जनमत संग्रह भएको टिप्पणी गर्नुभएको छ ।

बुधबार पार्टीको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै उहाँले अबको निर्वाचन राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरुका लागि कम्फर्टेबलहरुका बीचमा प्रतिस्पर्धा हुने उल्लेख गर्नुभयो ।

उहाँको प्रतिवेदनमा भनिएको छ, ‘यो निर्वाचन सामान्य, नियमित र सहज अवस्थामा हुँदै छैन, यो त जनादेश र परमादेशबीचको जनमत संग्रहका रुपमा हुँदैछ, राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरुका लागि कम्फर्टेबलहरुका बीचमा हुँदैछ । राजनीतिक स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकहरुबीच हुँदैछ ।’

अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा तालमेलबारे निर्णय गर्ने अधिकार जिल्ला कमिटीलाई दिने प्रस्ताव गर्नुभएको छ । स्थानीय वास्तविकता र आवश्यकताअनुसार तालमेल आवश्यक भए सम्बन्धित जिल्ला कमिटीले प्रदेश कमिटीको सहमति लिएर निर्णय गर्न सक्ने उहाले बताउनुभयो छ ।