Banner News

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, १५ चैत । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज सार्वजनिक गरेका हुन ।

सार्वजनिक निर्णयहरु:

१. चीन सरकारले प्रस्ताव गरेको सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

२. बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाका सचिव तोयम रायाको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

३. कतारको राजधानी दोहामा हुने दोहा फोरमको २०औँ संस्करणको सम्मेनलमा सहभागी हुन योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल नेतृत्वको टोलीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

४. बैठकले नेपाल राजस्व परामर्श विकास समितिको सदस्यमा लेखनाथ शर्मा पंगेनी र जीवन अंगाईलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

५. नेपाल र चीनबीच ग्रीड आबद्धताको सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

६. दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा सञ्जीव झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

७. जापानका लागि नेपालका पूर्वराजदूत केदारभक्त माथेमालाई जापान सरकारबाट प्राप्त हुने सम्मान ग्रहण गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

८. लोकसेवा आयोग तथा न्याय सेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवा, समूहका राजपत्रांकित प्रथम श्रेणीका पदहरूमा नियुक्त तथा पदस्थापन गर्ने निर्णय गरेको छ ।

९. नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य नियुक्तिका लागि सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।