समाचार

टिपरको ठक्करबाट एक जनाको मृत्यु



सप्तरी, १८ चैत । सप्तरीमा नेपाल विद्युत प्राधिकरणको गाडीलाई टिपरले ठक्कर दिंदा चालकको मृत्यु भएको छ  भने पाँच जना घाइते भएका छन् ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–५ रञ्जितपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको विद्युत प्राधिकरण बोदेबर्साइन शाखाको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना.७ ख २६५८ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो । टिपरको ठक्करले बोलेरो चालक बोदे बर्साइन नगरपालिका–५ बस्ने २६ वर्षीय शिवराज यादवको मृत्यु भएको हो ।

दुर्घटनामा बोलेरो गाडीमा सवार बोदेबर्साइन नगरपालिका–१० बस्ने ३० वर्षीय शैलेश यादव, सोही उमेरका महेश चौधरी, वडा नम्बर ५ का २६ वर्षीय वृजेश कुमार यादव, ३० वर्षीय जयशंकर साह र सिरहाको लहान नगरपालिका–८ बस्ने ३५ वर्षीय अरुण कुमार सिंह घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।