सम्पादकीय

कर्णालीमा चुनावभन्दा यार्चा टिप्ने हतारो



कालिकोट, २८ बैशाख । स्थानीय तहको निर्वाचन र यार्चागुन्बु टिप्ने मौसम एकैसाथ आएका कारण कर्णालीका अधिकांश गाउँमा चुनावको कुनै रौनक नै भित्रन सकेको छैन ।

स्थानीयवासीलाई चुनावभन्दा यार्चागुन्बु टिप्ने हतारो छ । सिजनमा यार्चागुन्बुबाट गर्ने आम्दानीले वर्षैभरीको खर्च धान्नुपर्ने कारण चुनावप्रति उनीहरू आकर्षित छैनन् । बहुमूल्य जडीबुटी टिप्नका लागि कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, मुगु र कालीकोटका अधिकांश मानिस पाटनतिर लागेका छन् ।

यार्चागुन्बु टिप्ने मौसम सुरु भएकाले युवाहरू स्थानीय तहको निर्वाचनमा मतदान नगरी यार्चागुन्बु टिप्न पाटन लागेका छन् । कर्णालीका डोल्पा, मुगु, जुम्ला र हुम्लाको हिमाली भेगमा पाइने यार्चागुन्बुको मौसम वैशाखदेखि असारसम्म भएका कारण युवाहरू यार्चागुन्बु टिप्न पाटन गएको हुम्ला सिमकोट गाउँपालिका नरबहादुर शाहीले बताए ।

“स्थानीय तहको चुनावभन्दा यार्चागुन्बु टिप्न जान मानिसको हतारो छ,” उनले भने, “यहाँका मानिसको आम्दानी प्रमुख स्रोत यार्चागुन्बु हो । यार्चागुन्बु नटिपे वर्षैभरी खान पुग्दैन ।”

समयमा नै पाटनमा यार्चागुन्बु टिप्न गएन भने निर्वाचनमा भोट हालेर वर्षभरी खान पुग्ने पैसा कसैले नदिने र दुई महिना दुःख गरे वर्षभरी खान पुग्ने मुगुको छायाँनाथ रारा नगरपालिकाका राजबहादुर बुढाले बताए ।

“विगतका निर्वाचनहरूमा नेता चुनेर पठाए पनि हालसम्म विकासका नाममा केही दिन नसकेकोले मतदान गर्न आवश्यक छैन्,” उनले भने, “युवाहरूलाई रोजगारीका अवसरहरू दिन नसकेकोले आफूहरू निर्वाचनभन्दा पनि यार्चागुन्बुलाई महत्व दिएर पाटनतिर जानुपर्ने भएको छ ।”

एउटा मौसममा एक जनाले यार्चागुन्बुबाट एक लाखदेखि चार लाखसम्म कमाइ गर्ने गरेको कर्णालीका स्थानीयवासीको भनाइ छ । कर्णालीका मुगुको छपुखोला, जुम्लाको पानसय, माझपाटन, हाँक, डोल्पाको पाटनमा युवाहरू यार्चागुन्बु टिप्नका पुगेका छन् । कारोबारमा समाचार छ ।