Banner News

प्रधानमन्त्री देउवाकै गृह जिल्लामा गठबन्धनको चुनावी तालमेल नहुने



डडेलधुरा, ९ बैशाख । पार्टीभित्र चर्को विरोधका बाबजुद प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दलसँग महानगर र उपमहानगरपालिकाको भागबण्डा गर्नुभएको थियो । तर आफ्नै गृह जिल्ला डडेल्धुरामा सत्तारुढ दलहरुबीच चुनावी तालमेल नहुने भएको छ ।

देउवाकै गृहजिल्ला डडेलधुरामा भने सत्तारुढ दलहरु तालेमल नगर्ने निर्णयमा पुगेको छन् । कांग्रेस डडेल्धुराका सचिव शेरबहादुर भण्डारीले एक–आपसमा स्वच्छ प्रतिस्पर्धा गर्ने निर्णय गरेर सबै दलले आ–आफ्नो केन्द्रीय समितिलाई पठाएको बताउनुभयो । अब जिल्ला तहमा तालमेलबारे कुनै छलफल नहुने, तर केन्द्रबाट निर्देशन आए मान्न बाध्य हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुई पटक सत्ता गठबन्धन दलहरुको बैठक बस्यो, दलहरुले आ–आफ्नो दाबी पेश गरे । दाबीअनुसार भागबण्डा मिल्ने जस्तो लक्षण नदेखिएपछि गठबन्धन दलको बैठकबाटै एक्लाएक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरियो । कांग्रेसले पहिलेदेखि नै जिल्लाका सातवटै पालिकामा एक्लै चुनाव लड्ने सोच बनाइरहेको थियो, अन्यदलहरुको दाबी पनि अलि नमिल्दो भएपछि गठबन्धन नगर्ने निर्णयमा पुग्यौं । यसरी बुझ्नुहोस् कि ९९ प्रतिशत चुनावी तालमेल हुँदैन, तर केन्द्रको निर्देशन आए तालमेल हुने सम्भावना छ ।’

उहाँका अनुसार जिल्ला समितिले सातवटै पालिकामा उम्मेदवारी दिने तयारी गरिसकेको छ । ‘हामीले सवै पालिकामाआफ्ना उम्मेदवार तय गरिसकेको अवस्था छ’ भण्डारी भन्नुहुन्छ, ‘वडाहरुको पनि उम्मेदवार करिब करिब छनौट भइसकेको छ ।’ नेकपा एकीकृत समाजवादीका डडेल्धुराका अध्यक्ष तुलाराम बोहराले पनि जिल्लामा चुनावी तालमेल नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘माओवादी र हाम्रा बीचमा स्थानीय स्तरमा आवश्यकता अनुसार तालमेल हुनसक्छ, तर जिल्लाभरि नै सत्ता गठबन्धनबीच तालमेल नहुने भयो ।’

चुनावी तालमेलका लागि छलफल भएको, तर स्वच्छ प्रतिस्पर्धा गर्ने गरी एक्लाएक्लै जाने निर्णय भएको नेकपा माओवादी केन्द्र डडेल्धुराका जिल्ला संयोजक उमेशप्रसाद भट्टले जानकारी दिनुभयो । ‘एक्लाएक्लै लड्दा पनि जो जिते पनि गठवन्धन दलभित्रैबाट जित्ने हो भन्ने कुरा भयो,’ संयोजक भट्टले भन्नुभयो, ‘त्यसैले हामीले चुनावी तालमेलमा जोड दिएनौं ।’