राजनीति

नागरिकता र सीमाङ्नका केही बुँदा राष्ट्र हित बिपरितः अध्यक्ष डा लोहनी



काठमाडौँ, १५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले स्थानीय पुनःसंरचना आयोगको प्रतिवेदनलाई सरकारले चाँडो पारित गर्नुपर्ने बताए । राप्रपा टोखा नगर अधिवेशनको उद्घाटन गर्दै लोहनीले भने— “स्थानीय तहको निर्वाचनका लागि भएपनि उक्त प्रतिवेदनलाई सरकारले चाँडो पारित गर्नुपर्छ ।”

अध्यक्ष लोहनीले देशमा करिब एक वर्षभित्र तीन वटै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै निर्धारित समयमा चुनाव हुन नसके मुलुकमा संविधान विहनिता र राजनीतिक अन्यौलता कायम हुने वताए ।

सरकारले ल्याएको संविधान संशोधन विधेयकमा नागरिकता र सीमाङ्कनका केही बुँदा राष्ट्रको हितमा नरहेकाले यथास्थितिमा सो प्रस्तावको पक्षमा पार्टीले मतदान नगर्ने उनले स्पष्ट पारे ।

पार्टीका महामन्त्री टङ्क ढकालले निर्धारित समयमा पार्टीको महाधिवेशन सम्पन्न गर्नका लागि वडा, गाउँ, नगरमा उत्साहजनक ढङ्गले अधिवेशन भइरहेको जानकारी दिँदै यही माघ २१ गते क्षेत्रीय तथा माघ २५ गते जिल्ला अधिवेशन गरिने बताए ।

नगर अध्यक्ष सरोजकुमार पाण्डेले आगामी दिनमा नगरका समस्या समाधानका लागि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।