राजनीति

एमाले नगरकमिटीद्वारा प्रतिवद्धता पत्र सार्वजनिक



भक्तपुर, २२ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा नतिजा निकाल्न गठबन्धनका दल तथा नेकपा एमालेको कडा प्रतिष्पर्धा रहेको छ । जसमा अन्य केही दलहरुले प्रतिष्पर्धा गरेता पनि मुख्य प्रतिष्पर्धी भने गठबन्धन तथा एमाले नै रहेका छन् ।

यसै क्रममा जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ७ नेकपा एमालेले आज चुनावी घरदैलो कार्यक्रम आयोजना गरेको छ । एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको गृहनगर गुण्डुमा आयोजना गरिएको एमालेको घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ताले समेत समर्थन गरेका छन् । चुनावी घरदैलो कार्यक्रममा भक्तपुर जिल्ला एमालेको लालकिल्ला बन्ने एमालेका नेता तथा कार्यकर्ताले उद्घोष गरेका छन् । विगत लामो समयसम्म एमालेबाहेकका दलले नेतृत्व गर्दा भक्तपुर विकासको अध्यारो युगबाट बाहिर निस्कन नसकेको भन्दै पाँच वर्षमा एमाले नेतृत्वले विकासमा ऐतिहासिक फड्को मार्दै नयाँ युगमा नै रुपान्तरण गरेको उल्लेख गर्दै एमालेले गरेको विकासले जनताको बिचमा भोट माग्न गइराख्नु पर्ने अवस्था नरहेको एमालेको दावी रहेको छ । जनताको माझमा भोट माग्नको साथ साथै विजयको शुभकामना सन्देश लिन र दिनको लागि पनि घरदैलो गरिएको एमालेले दावी गरेको छ ।

एमालेको चुनावी र्‍याली गुण्डु चोक हुँदै मगरगाउँ, मोर्डन स्कुल, किवाचोक, पुनः गुण्डु चोक, वसर्पाकसम्म पुगी अन्त्य भएको थियो । कार्यक्रममा सांसद बस्नेत, एमालेको केन्द्रीय सदस्य सोम मिश्र, वागमती प्रदेशका सांसद शशी जंग थापा, एमालेको तर्फबाट नगरप्रमुखका उम्मेदवार बाशुदेव थापा, उपप्रमुखका उम्मेदवार सरिता भट्टराई, वडाध्यक्षका उम्मेदवार रविन्द्र सापकोटा, वडा सदस्यका उम्मेदवारहरु गीता बस्नेत, सन्तोषी परियार, इश्वर थापा, उमेश कार्कीसहितका एमाले जिल्ला कमिटीका नेता तथा अन्य कार्यकर्ताको साथमा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

र्‍यालीमा एमालेलाई विजयी गराउनुको कारणहरुको बारेमा नाराको माध्यमबाट स्पष्ट पारिएको थियो । आगामी दिनमा एमालेको नेतृत्व किन आवश्यक छ भन्ने विषयमा समेत नाराकै माध्यमबाट प्रस्तुत गरिएको थियो । त्यस्तै र्याली समापन पश्चात एमाले नगरकमिटीद्वारा स्थानीय तहको निर्वाचनको लागि तयार परिएको प्रतिवद्धतापत्र सांसद बस्नेत, मेयरका उम्मेदवार थापा, उपमेयरका उम्मेदवार भट्टराई, वडाध्यक्षका उम्मेदवार सापकोटा, जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवर लगायतको टोलीले सार्वजनिक गरेको छ ।