समाचार

संसद् अगाडि विष्फोट गराएको आरोपमा चार जना पक्राउ



काठमाडौँ, ४ जेठ । ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनको दिन एकाबिहानै नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि सिलिन्डर विष्फोटन गराएको अभियोगमा चार जना पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार उनीहरुले चुनावका वेला आतंक सिर्जना गर्ने उद्देश्यले बिहान अन्दाजी २ बजेतिर सिलिन्डर ग्याँसमा आगो लगाएर विष्फोट गराएका थिए ।

पक्राउ पर्नेमा आफूहरुलाई नेपाल कम्युनिस्ट पार्टी (सिवादी) नामक समूह सदस्य बताउने गोरखाका हरिकृष्ण थापा, काभ्रेका करण श्रेष्ठ, भोजपुरका युवराज थापा र खोटाङका भरतकुमार राई छन् । विष्फोटनबाट दृष्टि आँखा केन्द्र रहेको भवन र एक कन्सल्ट्यान्सी रहेको घरको शिशा फुटेको थियो । पक्राउ परेकामध्ये भरतकुमार यसअघि पनि हातहतियार तथा खरखजना, बैंकिङ कसुर तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ परिसकेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।