काठमाडौँ, ४ जेठ । निर्वाचन आयोगले जनप्रतिनिधिविहीनताको अवस्था आउन नदिन यही जेठ ५ गतेभित्रै मतगणना सक्न निर्देशन दिएको छ ।
आयोगले मंगलबार विज्ञप्ति जारी गरी ५ गतेभित्र मत परिणाम सार्वजनिक गर्न अधिकतम प्रयास भइरहेको जनाएको छ । आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “…मध्याह्नसम्म ४६० पालिकाहरूको अन्तिम परिणाम प्राप्त भइसकेको र अन्यको परिणाम धमाधम आइरहेको छ । परिणाम आउन बाँकी पालिकाहरूमा मतगणनाकार्य २०७९ जेठ ५ गतेसम्म सम्पन्न गर्न आयोगका तर्फबाट अधिकतम प्रयास भइरहेको कुरा सबैमा जानकारी गराउन चाहन्छौँ,” “धेरै मतगणना गर्नुपर्ने महानगर र उपमहानगरपालिकाहरूका हकमा बढीभन्दा बढी मतगणना टोली व्यवस्था गरी तोकिएको समयभित्र मतगणनाकार्य सम्पन्न गर्नका लागि यसअघि नै आयोगबाट भएको निर्देशनलाई आयोग पुनः स्मरण गराउन चाहन्छ ।”
त्यस्तै आयोगले निर्वाचन हार्ने देखेपछि सुरुदेखि नै पुनः गणना गर्नुपर्ने माग गरेर बखेडा नझिक्न उमेदवार र दलहरूलाई आग्रह पनि गरेको छ ।
“मतगणना कार्यमा सानातिना विषयलाई ठूलो मुद्दा बनाई विवाद बल्झाउने, गणनाकार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्नेजस्ता समस्याहरू खडा गर्ने, गणना गर्दै जाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो मतान्तर देखिएमा सुरुदेखि नै पुनः मतगणना गराउन खोज्नेजस्ता कार्यबाट मतगणना यथासमयमा सम्पन्न गर्ने कार्यमा व्यवधान उत्पन्न हुने हुँदा त्यस प्रकारका व्यवहार प्रदर्शन नगर्न आयोग हार्दिक आग्रह गर्दछ,” आयोगका विज्ञप्तिमा भनिएको छ ।










प्रतिक्रिया दिनुहोस्