समाचार

आजको मौसम



काठमाडौँ, ५ जेठ । नेपालमा हाल तीनवटा मौसमी प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

अहिले सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागहरूमा आंशिक बदली छ । आज दिउँसो प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती प्रदेशलगायत प्रदेशका पहाडी भू–भागमा अपराह्नपछि आंशिकदेखि सामान्य बदली रहनेछ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत अरू प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यस्तै राति प्रदेश–१, मधेस प्रदेशलगायत प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रदेश–१ र मधेस प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अरू प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।