राजनीति

विराटनगर महानगरपालिकाको मेयर काँग्रेस र उपमेयमा एमाले विजयी



विराटनगर, ७ जेठ । विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धन नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेका शिल्पा कार्की विजयी हुनुभएको छ ।

गएराति सार्वजनिक गरिएको मतपरिणामको अन्तिम मतपरिणामअनुसार कोइराला ३० हजार १७० मतका साथ विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागर कुमार थापाले २१ हजार ४५५ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार उमेश कुमार यादव तेस्रो हुनुभयो ।

यसैगरी सो महानगरपालिकाको उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी हुनुभएको छ । उहाँले जसपाका अमरेन्द्र यादवलाई पराजित गर्दै विजयी हुनुभयो । शिल्पाले २५ हजार ६८० मत पाउँदा अमरेन्द्रले १४ हजार २१९ मत पाउनुभयो । गठबन्धन तोड्दै उपमेयर एमालेले जितेको हो ।