चितवन, ७ जेठ । हावाहुरीका कारण चितवनमा मृत्यु भएका तीन जनाको सनाखत भएको छ ।
शुक्रबार साँझ आएको हावाहुरीले रुख ढाल्दा च्यापिएर एउटा अटो र एउटा म्याजिकमा सवार तीन जनाको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार भरतपुर महानगरपालिका–११ को भोजाड जङ्गलमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना२ह २२४७ नम्बरको अटो सवारी साधन रुखले च्यापिँदा चालक स्थानीय ५१ वर्षीय प्रदीपकुमार लामाको मृत्यु भएको छ । सोही अटोमा सवार गोरखा गण्डकी गाउँपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–७ कटहर चोक बस्ने २८ वर्षीया माया गुरुङको मृत्यु भएको हो ।
यस्तै सोही समयमा भरतपुरको बसेनी चोकमा ना१ज ६१४० नम्बरको म्याजिकलाई रुखले किच्दा त्यसमा सवार स्थानीय ४८ वर्षीय लोकनाथ न्यौपानेको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । हावाहुरीका कारण विभिन्न स्थानमा गरी ११ घाइते भएका छन् । उनीहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
हावाहुरीका कारण ठाउँठाउँमा बिजुलीका पोल ढल्दा शुक्रबार साँझबाट जिल्लाका धेरै ठाउँमा विद्युत् अवरुद्ध भएको छ । साँझसम्ममा विद्युत् प्रवाह हुने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्