काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको परिणाम सन्तोषजनक नै आएको बताएको छ ।
कांग्रेसले सात सय २८ पालिकाको मतपरिणाम आउँदा तीन सय २० पालिकामा प्रमुख/अध्यक्ष जितेको बताएको छ भने दुई सय ९४ जना उपप्रमुख/उपाध्यक्ष जितेको जानकारी दिएको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार मतगणना जारी रहेका ठाउँमा पालिका प्रमुख र उपप्रमुखमा केही ठाउँमा पार्टीका उम्मेदवार अग्र स्थानमा रहेकोले यो संख्या केही बढ्न सक्छ । स्थानीय निर्वाचनको सबै परिणाम आइसकेपछि प्रत्येक गाउँ र नगरपालिकामा पार्टीका सदस्यहरुको भूमिकाको सम्बन्धमा पार्टीले समीक्षा गर्ने उनले बताए ।
उनले भने, ‘स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा सन्तोषजनक नतिजा आएको हाम्रो निश्कर्ष छ । यद्यपी यसपालि पनि विभिन्न ठाँउहरुमा अन्तरघात भएको सूचनाहरु आइरहेका छन् । यो प्रवृति नदोहोरिएको भए उल्लेख्य संख्या थप हुने कुरामा दुई मत थिएन । यो परिणामबाट आम जनतामा कांग्रेसप्रतिको विश्वास बढेको भन्ने आंकलन पुष्टि भएको छ । गठबन्धनका सन्दर्भमा निर्णय अन्तिम समयमा हुँदा यसको सन्देश मतदातासमक्ष पुर्याउन भएको कठिनाइले केहि समस्या आएता पनि समग्रमा स्थानीय तहको निर्वाचनमा पाँच दलबीचमा भएको तालमेल सफल भएको हाम्रो निश्कर्ष छ ।’










प्रतिक्रिया दिनुहोस्