Banner News

निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन सभापति देउवाको आह्वान



काठमाडौँ, ३० वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलि हुने स्थानीय तहको मतदानलाई उल्लासमय पर्वका रुपमा शान्तिपूर्ण तरिकाले सफल बनाउन आह्वान गर्नुभएको छ ।

सभापति देउवाले आज एक विज्ञप्ति जारी गर्दै मुलुक संविधान कार्यान्वयनको ऐतिहासिक चरणमा प्रवेश गरेको अवस्थामा हुन गइरहेको निर्वाचनको नागरिकको अधिकार नागरिककै तहमा पु¥याउन ऐतिहासिक महत्व रहेको उल्लेख गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचन संविधानले परिकल्पना गरेको स्थानीय तह, प्रदेश र केन्द्रीय तहलाई व्यवहारमा नागरिकले अनुभूत गर्न पाउने पहिलो खुड्किला भएको जनाउँदै उहाँले निर्भयका साथ मतदान गर्न पाउने नागरिक अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

“लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सङ्घीय राज्यको परिकल्पना पूरा गर्ने यो महत्वपूर्ण अवसर हो । सुशासन, पारदर्शिता, जवाफदेहिता र जनसहभागिताजस्ता लोकतन्त्रका आधारभूत मूल्य मान्यतालाई स्थापित गर्दै सुदृढ लोकतन्त्रका पक्षमा यो निर्वाचन कोसेढुङ्गा सावित हुने विश्वास मैले गरेको छु, – विज्ञप्तिमा उल्लेख छ ।

आमनेपाली नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने र विकासलाई तीव्र गतिमा अघि बढाउने चाहना पूरा गर्न यो निर्वाचन सशक्त साधन रहेको उल्लेख गर्दै सभापति देउवाले निर्वाचनमा सहभागी हुन आममतदाताले देखाएको उत्साह र उमङ्गले लोकतन्त्रको भविष्यलाई थप सुदृढ बनाउन सघाएको विश्वास व्यक्त गर्नुभएको छ ।

स्थानीय तह विकासको आधारशीला भएको बताउँदै उहाँले यस निर्वाचनमा आफ्नो मताधिकारको सदुपयोग गर्न र लोकतन्त्रको सुदृढीकरण अभियानमा सहभागी हुन आमजनतालाई अपिल गर्नुभएको छ ।