राजनीति

उद्योगलाई भारतमा बेच्ने भन्दा सस्तोमा बिजुली



काठमाडौँ, १० जेठ । सरकारले उत्पादनमूलक र निर्यातमूलक उद्योगलाई सस्तोमा बिजुली दिने घोषणा गरेको छ । सरकारले औसत बाह्य ऊर्जा व्यापार दरभन्दा बढी नहुने गरी विद्युतमा सहुलियत उपलब्ध गराउने घोषणा गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रममा भारतमा बेच्दा प्राप्त हुने औसत दरभन्दा कम महसुल दरमा उद्योगलाई नेपालमै बिजुली उपलब्ध गराउने घोषणा गरिएको छ । आधारभूत र जीवनरक्षक औषधी, खोप तथा औषधीजन्य सामग्री उत्पादनलाई थप प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । नेपाली औषधि उत्पादकहरूको उत्पादन क्षमता वृद्धि गरी औषधिको आपूर्तिमा सुधार गरिने भएको छ ।

निर्यात हुने र आयात प्रतिस्थापन हुने प्रतिस्पर्धी वस्तुको उत्पादन लागत घटाई निर्यात प्रवद्र्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै सरकारले उत्पादन एवं निर्यात मुलक उद्योगलाई विद्युत् महसुलमा छुट दिने भएको छ । राष्ट्रपति भण्डारीले उत्पादनमुलक उद्योगलाई प्रदान गरिने विद्युत् महसुल बाह्य उर्जा व्यापार दरभन्दा कम महसुल लगाउने घोषणा गरेकी हुन् ।

सरकारले आर्थिक वर्ष २०८०/८१ बाट निगजढ विमानस्थल निर्माण सुरु गर्ने घोषणा गरेको छ । यसका लागि आगामी आव २०७९/८० मा लगानी तथा निर्माणको ढाँचा टुंगो लगाइने छ । राष्ट्रपति भण्डारीका अनुसार यस आवमा निर्माण सम्पन्न भएका क्षेत्रीय विमानस्थलको सञ्चालनमा ल्याइने छ । आन्तरिक विमानस्थलहरुको स्तरोन्नतीको काम समेत यस आवमा हुने भएको छ ।