Banner News

देशको अर्थतन्त्र संकटग्रस्त छ : महामन्त्री थापा



काठमाडौँ, १४ जेठ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले देशको अर्थतन्त्र संकटग्रस्त हुँदै गएको बताएका छन् ।

आजको प्रतिनिधिसभामा प्रि–बजेट छलफलमा भाग लिदै उनले देशको अर्थतन्त्र समस्या ग्रस्त मात्र नभई संकटग्रस्त हुँदै गएको बताएका हुन् ।

उनले भने, ‘अर्थतन्त्रमा जोखिम आइसक्यो । त्यसैले जोखिम सम्बोधन गर्न सरकारले नै सबैभन्दा बढी ध्यान दिनुपर्छ, ‘आजको सबैभन्दा ठूलो चूनौति व्यापारघाटा हो ।’ पछिल्लो १० महिनामा नेपालले १६ खर्बको आयात गर्दा १ खर्बको सामान बेच्नु अर्थतन्त्रको सबैभन्दा ठूलो चूनौति भएको थापाले बताए । ‘नेपालजस्तो अर्थतन्त्र भएको मुलुकलाई सबैभन्दा ठूलो चूनौति नै व्यापार घाटा हो, ‘कतिपय देशलाई व्यापारघाटा ठूलो चूनौति होइन । तर, नेपालजस्तो अर्थतन्त्र भएको मुलुकमा यो समस्या हो ।’

खासगरी, पेट्रोलियम पदार्थको बढ्दो आयात नै व्यापारघाटा न्यूनीकरणको चूनौति भएको थापाको भनाइ छ । नेपाल आत्मनिर्भरउन्खु औद्योगिक उत्पादनको आयात घटाउन सरकारलाई उनले आग्रह गरे । उनले भने, ‘हामी सुपारी र मरिच ल्याउँदैनौँ । अन्य नचाहिने वस्तुको आयात समेत गर्दैनौं भनेर सरकारले भन्नुपर्छ, ‘सरकारले यसो भनेपछि मात्रै सर्वसाधारणले पनि नचाहिने वस्तुको खरिद गर्दैनन् । जसले आयात घटाउँछ ।’