समाचार

खैरो हिरोइनसहित चारजना पक्राउ



कञ्चनपुर, १५ जेठ । लागुऔषध खैरो हिरोइनसहित प्रहरीले बेलौरी नगरपालिका–७, पौलाहा मसानघाट क्षेत्रबाट चारजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार हिजो साँझ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले १५.९८ ग्राम लागुऔषध खैरो हिरोइनसहित चारैजनालाई पक्राउ गरेको हो । उनका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१३, एयरपोर्ट बस्ने २२ वर्षीय दीपक भट्ट, १८ वर्षीय विवेक चौधरी, २५ वर्षीय किशोर राना र ३५ वर्षीय कालुराम राना छन् ।

मोटरसाइकलको टुल बक्स र सेतो प्लास्टिकको थैलाभित्र लुकाइछिपाइ चारैजनाले लागुऔषध खैरो हिरोइन लग्दै गरेको अवस्थामा प्रहरीको टोलीले शंका लागि जाँच गर्दा फेला पारेको हो । लागुऔषध र मोटरसाइलसहित पक्राउ परेका चारैजनामाथि प्रहरीले आवश्यक अनुसन्धानको कार्य गरिरहेको छ । चार दिनअघि मात्रै प्रहरीले बेलौरी क्षेत्रबाटै चारजनालाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको थियो । रासस