सम्पादकीय

अब पैदल यात्रुलाई नियमले कस्दै प्रहरी



काठमाडौं, ३ माघ । पैदल यात्रुले तोकिएको स्थानबाट मात्र बाटो काट्नुपर्छ । साइकलका लागि बनाइएको सडकमा साइकल गुडाउनुपर्छ । सडकमा जथाभाबी चौपाया छाड्नुहुँदैन ।

सडकलाई बिस्कुन सुकाउने स्थान बनाउन पाइँदैन । यस्ता सामान्य विषयमा लापरबाही गर्दै आएका तपाईंहामी अब भने जिम्मेवार र सजग बन्नुपर्नेछ, नत्र दण्डको भागीदार ।

सवारीसाधनलाई निषेधित क्षेत्रमा पार्किङ गर्दा दुर्घटना भए र जथाभाबी सडक अवरुद्ध र तोडफोड गरे क्षतिपूर्ति दिनुपर्नेछ । यस्तै सवारीसाधन र सडकको अवस्थाका कारण दुर्घटना भए सवारीधनी र सडक निर्माण गर्ने निकाय सजायका भागीदार हुनेछन् ।

सरकारले पैदल यात्रुसमेतलाई दुर्घटनामा दोषी देखिए कारबाहीको व्यवस्थासहितको सडक सुरक्षा ऐन ल्याउने तयारी गरेको छ । सडक विभागले सरोकारवाला निकायको सहकार्यमा सडक प्रयोगकर्ता, निर्माता र सवारीसाधन सबैलाई कसुरअनुसार सजाय र क्षतिपूर्ति भराउने व्यवस्थासहित ‘नेपाल सडक सुरक्षा ऐन–२०७३’ मस्यौदा तयार पारेको हो ।

छलफलमा रहेको मस्यौदामा हालको यातायात व्यवस्था ऐनमा रहेका धेरै व्यवस्थालाई कसुर तथा सजायका रुपमा समाहित गरे पनि पैदल यात्रु र सडक प्रयोगकर्तालाई हुने सजायको मात्रा तथा क्षतिपूर्तिको निर्धारण राष्ट्रिय सडक सुरक्षा परिषद् गठनपछि हुनेछ ।

सडक विभागका प्रवक्ता दयाकान्त झाले अधिकारप्राप्त राष्ट्रिय सडक सुरक्षा परिषद् स्थापनासहितको मस्यौदाउपर छलफल भइरहेको बताए । उनले विगत सडक दुर्घटनालाई आधार बनाएर सडक र प्रयोगकर्ताको हितका लागि मस्यौदा तयार पारिएको जनाएको नागरिकमा समाचार छ ।