सम्पादकीय

उपत्यकाको जमिन भासिने खतराः जमिनमुनिको पानी निरन्तर घट्दै



काठमाडौं, ३ माघ । काठमाडौं उपत्यकाको जमिनमुनि पानीको सतह हरेक वर्ष घट्दै गएको छ । जनघनत्व बढ्दै जाँदा जमिनमुनिबाट अत्यधिक पानी निकाल्न थालिएकाले उपत्यकाको जमिन भासिने खतरा भएको विज्ञहरू बताउँछन् ।

भूमिगत जलस्रोत विकास समितिका सिनियर डिभिजन हाइड्रोजियोलोजिस्ट सुरेन्द्रराज श्रेष्ठका अनुसार आकाशबाट पर्ने पानी जमिनमुनि जति रिचार्ज हुन्छ, त्योभन्दा धेरै गुणा बढी  निकालिएको छ । ‘रिचार्ज हुने पानीको मात्राभन्दा अत्यधिक पानी तानिएकाले सन्तुलन मिलेको छैन, यसबाट भयाभह अवस्था आउन सक्ने सम्भावना छ,’ श्रेष्ठले भने ।

समितिका अनुसार कीर्तिपुरमा ०५८ सालमा जमिनभन्दा आठ मिटरमुनि पानी भेटिन्थ्यो, तर ०७१ वर्षपछि ११ मिटरमुनि मात्रै पानी भेटिएको छ । ललितपुरको लुभुमा ०५८ सालमा पानीको सतह ३० मिटर मुनी थियो भने ०७१ सालमा ४० मिटर मुनि पुगेको देखिएको छ । मुलपानीमा ०५८ सालमा ३१ मिटर मुनि पानीको समत थियो, ०७१ सालसम्म पुग्दा ३४ मिटर मुनि पुगेको छ ।

त्यस्तै, पेप्सीकोलामा ०६५ सालमा ३० मिटर मुनी पानी भेटिन्थ्यो भने ०७१ सालमा ३८ मिटर मुनी पुगेको छ । यी क्षेत्रको नमुना परीक्षणका आधारमा विज्ञले उपत्यकाको सतह भासिन सक्ने विश्लेषण गरेका छन् । उपत्यकाको जमिन बालुवा र गेग्रानले बनेको कमजोर भु–बनावट भएकाले भासिने खतरा रहेको श्रेष्ठले बताए ।

‘जमिनमुनीबाट पानी निकाल्ने तर, पानी जाने अवस्था नभएमा स्वातह खाली भएको भाग भासिन सक्छ, काठमाडौं उपत्यकाको अहिलेको अवस्था यही हो’ उनले भने । भौगोलिक भूवनावट अनुसार जमिनमुनी पानी रिर्चाज हुन्छ । काठमाडौ उपत्यकामा सबैभन्दा धेरै पानी रिचार्ज हुने क्षेत्रमा अत्याधिक घरहरु बनेपछि  समस्या बढेको हो । पछिल्ला बर्षहरुमा बर्षा कम भएकाले जमिनमुनी पानी थोरै मात्र रिचार्ज हुने गरेको नयाँ पत्रिकामा समाचार छ ।