सम्पादकीय

राजस्व लक्ष्यको आधा, खर्च चौथाइ



काठमाडौं, ३ माघ । सरकारले राजस्व असुली लक्ष्यअनुसार नै गरे पनि खर्च गर्ने क्षमता नबढाउँदा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २ खर्ब रुपैयाँभन्दा बढी सरकारी खातामा थन्किएको छ । सरकारी खातामा यति ठूलो परिमाणमा रकम थन्किएसँगै वित्त बजारमा तरलता समस्या चर्किएको छ ।

सरकारी अधिकारीहरू बजेट बचतको अवस्था अझै बढ्दै जाने बताउँछन् । पछिल्लो समयमा राजस्व परिचालनले फड्को मारेको र खर्च अपेक्षित नभएकाले सरकारी ढुकुटी २ खर्ब बढी बचतमा रहेको बताउँछन् । अर्थसचिव डा। शान्तराज सुवेदी यस्तो बचत अझै वृद्धि हुनसक्ने बताउँछन् ।

चालू आर्थिक वर्षको आधा अवधि सकिँदा सरकारी खर्चको मुख्य स्रोत राजस्व लक्ष्यकोे आधा उठेको छ । तर, अर्धवार्षिक अवधिमा खर्च भने लक्ष्यको एक चौथाइमा सीमित भएको छ । चालू वर्ष समय अनुकूल रहेको, समयमै बजेट आएको र बजेट खर्चन आर्थिक वर्षको सुरुमै अख्तियारी दिइए पनि खर्चमा सुधार आएको छैन ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ महिनामा २ खर्ब ७८ अर्ब ४७ करोड ६६ लाख रुपैयाँ राजस्व परिचालन भएको छ । यो असुली वार्षिक लक्ष्यको ४९।२१ प्रतिशत हो भने यस अवधिको लक्ष्यभन्दा ७।६३ प्रतिशत बढी हो ।

चालू वर्षमा ५ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख राजस्व परिचालन गर्ने सरकारी लक्ष्य छ । पहिलो छ महिनामा २ खर्ब ५८ अर्ब ७४ करोड तीन लाख रुपैयाँ असुली गर्ने लक्ष्य थियो । अर्थ मन्त्रालयका अनुसार पुसमा राजस्व लक्ष्यभन्दा नौ प्रतिशत बढी उठेको छ ।

पुसमा ६३ अर्ब ९१ करोड रुपैयाँ राजस्व परिचालन गर्ने लक्ष्य लिइएकोमा ६९ अर्ब ७६ करोड रुपैयाँ अर्थात लक्ष्यभन्दा ५ अर्ब ८५ करोड रुपैयाँ बढी उठेको छ । पुससम्म प्राप्त राजस्वमध्ये राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस)मार्फत २  खर्ब ७७ अर्ब ५८ करोड ९ लाख र एकल खाता कोष ९टीएसए०मार्फत ८९ करोड ५६ लाख ८९ हजार रुपैयाँ राजस्व उठेको छ ।

अर्थसचिव सुवेदीले राजस्व परिचालन सकारात्मक देखिए पनि खर्च व्यवस्थापनमा समस्या अझै नसल्टिएको बताए । तर, राष्ट्रिय वाणिज्य बैंकलाई आठ अर्ब र नेपाल बैंकलाई पाँच अर्ब रुपैयाँ गरी १३ अर्ब रुपैयाँ निवृत्तिभरणका लागि निकासा भएकाले समग्र खर्च वृद्धि गर्ने र बजारमा तरलता अभावको स्थिति अन्त्य गर्ने उनको भनाइ छ ।

अर्धवार्षिक अवधिमा २ खर्ब ७४ अर्ब ६८ करोड ५१ लाख रुपैयाँ  खर्च भएको छ । यो खर्च चालू वर्ष विनियोजित रकम १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाखको २६.१९ प्रतिशत हो । त्यसमध्ये चालू खर्चमा विनियोजित रकम ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाखको ३५.४२ प्रतिशत अर्थात २ खर्ब १८ अर्ब ६० करोड ९१ लाख रुपैयाँ छ ।

त्यसैगरी पुँजीगतमा विनियोजित रकम ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाखको ११.३ प्रतिशत अर्थात ३५ अर्ब २५ करोड ४६ लाख र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम १ खर्ब १९ अर्ब ८१ करोड ९ लाखको १७.३८ प्रतिशत अर्थात २० अर्ब ८२ करोड १४ लाख रुपैयाँ मात्रै खर्च भएको कारोबारमा समाचार छ ।