सम्पादकीय

यी हुन् सुन तस्कर :एक किलो सुन चीनबाट भारत पुर्याउँदा तस्करलाई ३ देखि ५ लाखसम्म फाईदा



काठमाडौं, ४ माघ । एक महिनाको अवधिमा नेपाल प्रहरीले ६० केजी अवैध सुन बरामद गरेको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी), अपराध महाशाखा, बालाजु वृत र रसुवा प्रहरीले उक्त परिमाणको सुन बरामद गरेको हो ।

विमानस्थलको चेकचाँज र प्रहरी सुरक्षा घेरा पार गरेको ३३ किलो सुन सिआईबीले बरामद गर्न सफल भएको थियो भने चाईनाको केरूङबाट रसुवा नाका हुँदै काठमाडौं ल्याउँदै गरेको २७ किलो सुन प्रहरीले फरक–फरक स्थानबाट बरामद गरेको थियो ।

रसुवा प्रहरीले मोटरसाईकलमा ल्याउदै गरेको ५ किलो सुन पक्राउ गर्न सफल भएको एक साता नबित्दै अपराध महाशाखाले काठमाडौंको कलंकीबाट ७ किलो बरामद गरे लगत्तै बालाजु वृत्तले १५ किलो सुन बरामद गरेपछि राजधानीमा दैनिक अबैध सुन भित्रिने गरेको अनुमान सुरक्षा निकायले गर्न थालेको छ ।

सुनसँगै भरिया मात्र पक्राउ पर्ने भएपछि प्रहरीले पछिल्लो समय संगठित अपराधको मुद्दा लगाएर सुनको मालिक पक्राउ गर्ने रणनीति बनाएको छ । पक्राउ परेका भरियाको रडिमेड जवाफ र अनुसन्धान गर्ने जिम्मा नपाँउदा सुन तस्करीको जालो च्यात्न प्रहरी असफल हुँदै आएको थियो ।

पक्राउ परेका भरियाले केरूङबाट सुन पठाउने चाईनीजको उपनाम मात्र थाहा भएको बताउने र सुन बाकेको गाडी काठमाडौं पुगेपछि कसैले फोन गर्छ उसलाई गाडी दिनु भनेको छ भन्दै प्रहरीलाई बयान दिने हुँदा सुनको मालिक खोज्न प्रहरी असफल हुने गरेको छ । त्यसपछिको अनुसन्धान गर्ने समय प्रहरीसँग नहुँदा सुन तस्करले राजश्वकोे मिलोेमतोमा उन्मुक्ति पाउँदै आएको प्रहरीका एक उच्च अधिकारी दाबी गर्छन् ।

विमानस्थलबाट पक्राउ परेको ३३ किलो सुन प्रकरणमा सिआईबीले सुनको असली मालिक पत्ता लगाउन संगठीत अपराधमा मुद्दा अघि बढाएपछि सुन तस्करीहरूको होस हवास उडेको छ भने सुुन तस्करसँग बार्गेेनिङ गरी लाखौं रूपैंयाँ असुल्ने राजश्वका कर्मचारी समेत यतिखेर तनावमा परेका छन् । भूकम्प पश्चात तातोपानी नाका बन्द भएपछि सुन तस्करहरूले रसुवा नाकाबाट तस्करी गर्न थालेका हुन् ।

सुन तस्करी गर्ने पुरानै समुह राजधानीमा सक्रिय रहेको छ । स्रोतका अनुसार रसुवा नाका हुँदै दैनिक दुई सय किलोको हाराहारीमा सुन काठमाडौं भित्रिन्छ । उक्त सुन दैनिक काठमाडौंमा १५ देखि २० केजी खपत हुन्छ भने बाँकी काठमाडौं ट्रान्जिट भएर भारत पुग्नेगर्छ ।
एक किलो सुन चाईनाबाट भारत पु¥याउँदा तस्करलाई समय अनुसार ३ देखि ५ लाखसम्म फाईदा हुन्छ ।

जसका कारण केही माफियाहरू सुन तस्करीमा लागेका हुन् । मासिक सय किलो सुन मात्र भारत छिराउँदा चार करोडसम्म फाईदा हुने भएपछि यदाकदा पाँच-दश किलो सुन प्रहरीले पक्राउ गर्दैमा उनिहरूलाई खासै समस्या नपर्ने तस्करहरू नै बताउँने गर्छन् ।

बर्षौं देखि सुन तस्करीमा बौद्धका घ्याम्चो लामा, शम्भु शेर्पा, स्वयम्भूका टाटे माईला भन्ने नरधोव्ज श्रेष्ठ, नबिन लामा, दोलखाका पेम्बा दोर्जे शेर्पा, सिन्धुपाल्चोकको तेब्बो शेर्पा, उपेन्द्र श्रेष्ठ सक्रिय हुँदै आएका छन् । यिनले गाडीका चालकलाई भरियाको रूपमा प्रयोग गर्दै सुन तस्करी गर्दै आएका जनप्रहार साप्ताहिकमा समाचार छ ।