सम्पादकीय

तीन वर्षपछि आयल निगम फेरि घाटामा



काठमाडौं, ४ माघ । पछिल्लो समय नाफा कमाएर ऋण मुक्त हुन सफल भएको नेपाल आयल निगम अहिले फेरि घाटामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढे पनि नेपालमा मूल्य समायोजन नभएका कारण निगम घाटामा गएको हो ।

पछिल्लो तीन वर्षयता नाफा कमाउँदै आएको निगमको अहिले मासिक घाटा १५ करोड पुगेको छ । निगम पछिल्लो एक महिनायता घाटामा गएको हो । भारतमा इन्धनको मूल्य बढेकाले त्यसको असर निगमलाई पनि परेको हो । निगमका प्रवक्ता भानुभक्त खनालले इन्डियन आयल कर्पोरेसन ९आईओसी०ले सोमबार पठाएको मूल्यसूची बढेर आएकाले पनि निगमले घाटा बढेर १५ करोड पुगेको बताए ।

पछिल्लो समय इन्धनको मूल्य बढेर आए पनि स्थानीय बजारमा समायोजन नहुँदा निगमको घाटा बढेको उनको भनाइ छ । “मूल्य बढेर आएकाले निगमलाई अहिले  मासिक १५ करोड रुपैयाँ घाटा पुगेको छ,” प्रवक्ता खनालले भने, “मूल्य बढाउँदा उपभोक्तालाई प्रत्यक्ष असर पर्ने भएकाले नेपालमा साविककै मूल्य राखिएको छ ।”

आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६८ पैसा र डिजेलमा १ रुपैयाँ ६६ पैसा बढेर आएको छ । नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा ६५ पैसा, मटीतेलमा ३ रुपैयाँ ४८ पैसा र हवाई इन्धन आन्तरिकमा ७ रुपैयाँ ५० पैसा र बाह्यमा १५ रुपैयाँ १२ पैसा नाफा रहेको छ ।

निगमलाई डिजेलमा प्रतिलिटरमा ३ रुपैयाँ र खाना पकाउने एलपीजी ग्यास प्रतिसिलिन्डरमा ७८ रुपैयाँ २४ पैसा घाटा छ । आईओसीले १५/१५ दिनमा नयाँ मूल्य पठाउने गर्छ । सोही मूल्यलाई आधार मानेर निगमले स्थानीय बजारमा मूल्य निर्धारण गर्ने गर्छ । भारतबाट इन्धनको मूल्य बढेर आए पनि निगमले गत पुसदेखि मूल्य बढाएको छैन । यसअघि निगमको नाफा मासिक २८ करोड पुगेको थियो ।

अहिले बजारमा प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेलरमटीतेल ७७ रुपैयाँ ५० पैसामा पाइन्छ । त्यस्तै खाना पकाउने एलपीजी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ३ सय २५ रुपैयाँ रहेको कारोबार दैनिकमा समाचार छ ।