काठमाडौं, ५ माघ । भूकम्पले क्षति पुर्याएका संरचना पुनर्निर्माणका लागि ढुंगादेखि इँटासम्म अभाव देखिएको छ । क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि ढुंगा, गिट्टी, वालुवा, काठ र इँटाको अभाव देखिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पले भत्काएका ८ लाख पक्की र २ लाख निजी घरसहित विद्यालय, स्वास्थ्य केन्द्र, सरकारी भवन लगायत गरी कुल १० लाख १६ हजार संरचनाहरू क्षतिग्रस्त भएका छन् ।
प्राधिकरणका कार्यकारी सदस्य डा। विष्णु भण्डारीले पुनर्निर्माणका लागि आवश्यक मात्रामा परम्परागत कच्चा पदार्थहरू इँटा, ढुंगा, वालुवा, काठ लगायतको अभाव देखिएको र यसको आपूर्तिका लागि प्राधिकरणले प्रयास गरिरहेको बताए ।
प्राधिकरणका अनुसार, पुनर्निर्माणका लागि २ करोड ११ लाख ९० हजार घनमिटर ढुंगा आवश्यक रहेकोमा हाल १ करोड ५६ हजार ६० हजार उपलब्ध छ । यसमा ५४ करोड ६० लाख अभाव देखिएको छ ।
त्यसैगरी २४ लाख ३० हजार घनमिटर गिट्टी आवश्यक रहेकोमा ५८ हजार उपलब्ध छ भने १८ लाख ५० हजार अभाव छ । ४६ लाख ३० हजार घनमिटर काठ आवश्यक रहेकोमा २५ लाख ६० हजार उपलब्ध छ भने २० लाख ८० हजार अभाव देखिएको छ ।
प्राधिकरणका अनुसार, पुनर्निर्माणका लागि १ करोड ७४ लाख ६० हजार मेट्रिकटन सिमेन्ट, १० लाख ६३ हजार मेट्रिकटन जस्तापाता र २७ लाख मेट्रिकटन छड आवश्यक रहेकोमा नेपालमा त्यसभन्दा बढी उत्पादन हुने गरेकोले समस्या भने छैन ।
निर्माण सामग्रीको उपलब्धताका लागि सहयोग गर्न आग्रह गर्दै पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। गोविन्दराज पोखरेलले पुनर्निर्माणमा निजी क्षेत्रलाई समेत सहभागी गराउनेगरी अघि बढेको जानकारी दिए ।
“निर्माण सामग्री उपलब्धता र आपुर्तिमा केही समस्या छन्, ती समस्यालाई सम्बोधन गर्नका लागि प्राधिकरण र सरकारी निकाय सक्रिय हुन्छ,” उनले भने । निर्माण सामग्री उत्पादन र व्यवस्थापनमा सक्रिय विज्ञहरूले भने पुनर्निर्माण अवधिभरका लागि विशेष प्याकेज ल्याउनुपर्ने बताइरहेका छन् ।
मंगलबार प्राधिकरणले गरेको छलफलमा उनीहरूले माग र आपूर्ति व्यवस्थापनका लागि अहिले सरकारी निकायबाट देखिएको वाधा अवरोध हटाउनका लागि आग्रह गरेको कारोबार दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्