अर्थ

७५० मेगावट क्षमताको पश्चिमसेती जलविद्युत् आयोजना अघि बढने



काठमाडौँ, ५ माघ । पश्चिमसेती जलविद्युत् आयोजना अघि बढाउन नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले आज स्वीकृति दिएको छ ।

प्राधिकरणको सञ्चालक समितिको आजको बैठकले चिनियाँ प्रवद्र्धक थ्रि गर्जेजबीच आयोजनाका लागि भएको संयुक्त कम्पनी स्थापना गर्नेसम्बन्धी प्रस्तावलाई स्वीकृत गर्दै सोको जानकारी लगानी बोर्डलाई समेत गराउने निर्णय गरेको हो ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार आयोजना नेपालको उच्च प्राथमिकतामा रहेको र आयोजना अघि बढाउन सरकारको निर्देशनअनुसार नै चिनियाँ लगानीकर्तालाई सञ्चालक समितिबाट आमन्त्रण गरिएको हो ।

पाँच वर्ष अघि आयोजना विकास सम्बन्धमा सरकार र चिनियाँ पक्षबीच प्रारम्भिक सम्झौता भए पनि प्रवद्र्धकले प्रसारण लाइन पुनःस्थापना, मुअब्जालगायत विषयमा नेपालको निर्णय पर्खेको थियो । कूल ७५० मेगावाट क्षमताको र करिब रु एक खर्बलागत लाग्ने सो आयोजनामा ७५ प्रतिशत लगानी थ्रि गर्जेजको र बाँकी प्राधिकरणको हुनेछ । अछाम र डोटीको सीमाना भएर बग्ने सेती नदीमा निर्माण हुने आयोजनाले बढी विद्युत् माग हुने साँझको समयमा सञ्चालनका लागि उपयुक्त आयोजना मानिन्छ ।