सम्पादकीय

साझामा राजनीति गरे अवकाश



ललितपुर, ६ माघ । बौद्धिक संस्था राजनीतिले डुबेको भन्दै साझा प्रकाशनले अब छनोट गर्ने कर्मचारीको नियुक्ति पत्रमै ‘राजनीति गरे अवकाश दिन सक्नेछु भन्ने लेख्ने भएको छ ।

पछिल्लो दुई वर्षमा एक सय ७२ जना कर्मचारीलाई सेवाबाट च्युत गरी ८३ जनामात्र रहेको साझालाई पहिलेकै अवस्थामा पुर्‍याउन करिब पाँच सय दक्ष जनशक्ति आवश्यक पर्ने भएको र नियुक्त गर्दा नै ‘राजनीति नगर्नेु र ‘काम गर्नेु कर्मचारी छनोट गर्ने भएको हो ।

देशको पहिचानसँग गाँसिएको भाषा, साहित्य, कला, संस्कृतिको उन्नयनमा समर्पित प्राज्ञिक संस्था साझा प्रकाशनबाट मासिक तलब लिनेभन्दा संस्थालाई केही दिन्छु भन्ने युवा, उर्जाशील र बहुआयामिक व्यक्तित्वलाई कर्मचारीमा छनोट गर्ने अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताए ।

साझालाई दुई वर्षमा कस्तो स्वरुप दिने भन्ने विषयमा २६ बुँदे संस्थागत सुधार, पाँच बुँदे आर्थिक, तीन बुँदे कानुनी र तीन बुँदे नीतिगत व्यवस्थापन सहितको कार्ययोजना सार्वजनिक गर्दै शर्माले भने, ‘‘दुई वर्षभित्र यी प्रतिवद्धता पूरा गर्न नसके बाँकी दुई वर्षे कार्यकाल छोड्न तयार छु ।’

३७ बुँदे सपना पुरा गर्न साझाले ‘एक पटक एक कामः साझा प्रकाशनु भन्ने नारा तय गरेको छ । साझाबाट कृति निकाल्ने स्रष्टा अंशियार भएकाले एकत्रित गर्न तिनको सम्पूर्ण विवरण खुल्ने डायरी निकाल्ने र तिनको शेयर थप गरी कम्तिमा सात हजार पाँच सय पुर्‍याइने भएको छ ।

२०३५ सालमा युनेस्कोबाट साझालाई नेपालका लागि एकमात्र राष्ट्रिय वितरक भनी मान्यता दिएकाले सोही मान्यतालाई कायम गराई स्वदेशी र विदेशी प्रकाशन गृहसँगको सहकार्यमा पुस्तक वितरण व्यवस्थित बनाइनेछ ।

कार्ययोजना अनुसार, साझाले उच्च शिक्षाका अन्य प्रकाशनहरुको पनि वितरण गर्ने, कक्षा ११ र १२ को ‘सबैको नेपालीु जस्ता अन्य पुस्तक उत्पादन तथा विक्रीवितरणको जिम्मेवारी लिनेछ ।

विभिन्न समयमा संस्थाको हिसाब किताब पारदर्शी नभई आर्थिक असन्तुलन भएकाले आर्थिक वर्ष २०६४-६५ देखि गतवर्षसम्मको सम्पूर्ण आर्थिक गतिविधिको निष्पक्ष छानवीन गरी यथार्थ वस्तुस्थिति यसै आवभित्र सार्वजनिक गरिने शर्माको भनाई रहेको अन्नपूर्ण पोष्टमा समाचार छ ।