सम्पादकीय

मिर्गौला प्रत्यारोपण भारत भन्दा नेपालमा सस्तो



काठमाडौं, ८ माघ । परिवार–परिवारबीच मृगौला साटासाट गर्न पाउने व्यवस्थापछि प्रत्यारोपण गर्नेको संख्या बढ्न थालेको छ । त्यस्तो व्यवस्था नहुँदा भने थुप्रै बिरामी मिर्गौला नपाएर विगतमा डायलाइसिस गरेर बस्दै आएका थिए । अहिले त्यस्ता बिरामी प्रत्यारोपणमा जान थालेका छन् ।

यसैबीच सरकारले विभिन्न ३२ अस्पतालमा निःशुल्क डायलाइसिस सेवा विस्तार गरेको छ । तर, पछिल्लो समय बिरामीहरूले प्रत्यारोपण रोज्न थालेको मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले बताए ।

‘विगतमा डायलाइसिसको मात्रै व्यवस्था थियो । मानव अंग प्रत्यारोपण ऐन, ०७२ संशोधन भएपछि गत साउनबाट मिर्गौला साटासाट गरेर प्रत्यारोपण गर्ने बाटो खुल्यो । त्यसकारण डायलाइसिस गर्नेभन्दा प्रत्यारोपण गर्न चाहनेको संख्या बढेको हो,’ डा। श्रेष्ठले  भने ।

परिवार–परिवारबीच साटासाट गर्न मिल्ने

मिर्गौला दान गर्ने मानिसहरू नभेट्दा प्रत्यारोपणका लागि समस्या भएपछि केन्द्रले परिवार–परिवारबीच मिर्गौला साटासाट गर्ने वातावरण सिर्जना गरेको हो । डा. सुमित आचार्यले परिवार–परिवारबीच मिर्गौला साटासाट गर्नेको संख्या बढेको बताए । आचार्यले भने, ‘ब्लड ग्रुपका आधारमा मिर्गौला प्रत्यारोपण गर्ने हो । पहिला परिवारका सदस्यहरूबीच ब्लड ग्रुप मिल्नुपर्छ । त्यसपछि प्रत्यारोपण गरिन्छ ।’

केन्द्रमा अहिले पनि दुई परिवारले एकआपसमा मिर्गौला साटासाट गरेर उपचार गराइरहेका छन् । उदयपुरका २१ वर्षीय उज्वल दाहाल र धादिङकी २८ वर्षीय सुनिता पाण्डेले प्रत्यारोपण गराएका छन् । उज्वलले सुनिताकी आमा गीताकुमारी पाण्डेबाट मिर्गौला लिएका छन् । सुनिताले उज्वलकी आमा हीरामाया खड्काबाट मिर्गौला दान लिएकी हुन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य बनिसकेको छ ।

भारतमा भन्दा नेपालमा सस्तो

नेपालमा मिर्गौला प्रत्यारोपण सुरु भएपछि भारतबाट समेत मानव अंग प्रत्यारोपण केन्द्रमा बिरामी आउन थालेका छन् । अहिले पनि केन्द्रमा भारतको अछामबाट प्रत्यारोपणका लागि बिरामी भर्ना भएका छन् । अस्पतालका अनुसार पुनः तीनजना प्रत्यारोपणका लागि आएका छन् ।

यसले नेपालको मिर्गौला प्रत्यारोपणको सेवा भारतमा भन्दा सस्तो, गुणस्तरीय, प्रभावकारी र विश्वसनीय रहेको देखाएको चिकित्सकहरूको भनाइ रहेको नयाँ पत्रिकामा समाचार छ ।