काठमाडौं, १२ माघ । मिठाईमा कोलिफर्म र ढुसी भेटिएको पशुपति फुड प्रालिको फाइल सरकारी वकिलको कार्यालयबाटै गायब भएको छ । अनुगमनका क्रममा गलत काम गरेको पाइएपछि कारबाहीका लागि आवश्यक रायसुझाव माग्दै पठाइएको सो फाइल रहस्यमय ढंगले गायब भएको हो ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत भदौमा रायका लागि सरकारी वकिलको कार्यालयमा दर्ता गरेको मुद्दाको फाइल अहिलेसम्म फर्केको छैन । विभागले कारबाहीका लागि पटक–पटक ताकेता गर्दा पनि सरकारी वकिल कार्यालयले फाइल हराएको ९मिसिङ० भन्दै हालसम्म कुनै राय पठाएको छैन ।
कार्यालयले जवाफ नपठाएकै कारणले पशुपति फुडको कसुरसम्बन्धी मुद्दा विभागले अघि बढाउन सकेको छैन । आर्थिक प्रलोभनमा परेर सरकारी वकिल कार्यालयकै कर्मचारीहरूले कारबाहीबाट जोगाउन फाइल गायब गरेको हुनसक्ने अनुमान विभागका अधिकारीहरूले गरेका छन् ।
विभागका निर्देशक लक्ष्मण श्रेष्ठले अनुगमनका क्रममा पशुपति फुड प्रालिबाट उत्पादित मिठाईमा कोलिफर्मको मात्रा उच्च पाइएकाले कारबाही गर्न रायका लागि पठाएको मुद्दा गायब भएको जानकारी दिए ।
“कैफियत भेटिएको मुद्दालाई सरकारी वकिलको कार्यालयबाट राय लिएरमात्र कारबाहीका लागि जिल्ला अदालतमा दायर गरिन्छ,” निर्देशक श्रेष्ठले भने, “रायका लागि पटक–पटक ताकेता गरे पनि सरकारी कार्यलयबाट फाइल हरायो भन्ने जवाफ आएको छ ।”
रायका लागि पठाइएको मुद्दा नै गायब भएपछि कारबाही प्रक्रिया अगाडि बढाउन सकिएको छैन,” श्रेष्ठले भने, “पाँच महिना बितिसक्दा पनि राय नआई मुद्दाको फाइल नै हराउनु भनेको कर्मचारीको मिलेमतो भएको देखिन्छ ।”
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालले पशुपति फुड प्रालिबाट उत्पादित मिठाईमा कोलिफर्मको मात्रा धेरै रहेको प्रमाणित गरेको थियो । पाँच महिना बितिसक्दा पनि रायको जवाफ नआउदा कारबाही प्रक्रिया अगाडि बढ्न नसकेको विभागको भनाई छ ।
विभागलाई उपभोक्ता ठग्ने व्यापारीलाई कारबाही गर्ने अधिकार छैन,” श्रेष्ठले भने, “मुद्दा दायर गर्दा राय लिएर मात्र गर्नुपर्ने प्रावधान हुँदा कारबाही प्रक्रिया ढिला हुन्छ र विभागले कामै नगरेको भन्दै आलोचना हुने गर्छ ।”
मिलेमतोमा मुद्दाको ल्याब रिपोर्ट नै फरक आउने, फाइल हराउने र मुद्दा कारबाही नहुने हुँदा बजार व्यवस्थित बन्न नसकेको कर्मचारी बताउँछन् । महान्यायधिवक्ता रमण श्रेष्ठले भने रायको लागि आएको मुद्दा हराउन नहुने र हराएको भए गम्भीर त्रुटी भएको र अनुसन्धान गर्नुपर्ने विषय भएको बताए ।
राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल मर्हजनले भुलवस वा नियतवस जे भए पनि मुद्दालाई कमजोर पार्ने गरी फाइल हराएको हुनसक्ने बताए । “रायसुझावका लागि पठाएको फाइल हराउनु भएको सरकारी कार्यलयको लापरबाही हो,” उनले भने, “फाइल हराउनुले कर्मचारीको मिलेमतो भई दोषिलाई थप प्रोत्साहन गरेको देखिन्छ ।”
दुई वर्षअघि तत्कालीन वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले कुहिएको मासु बिक्री गर्ने बिजमार्टविरुद्ध रायका लागि पठाएको मुद्दा समेत गायब पारिएको उनको भनाई छ । उपभोक्ता ठग्ने व्यवसायीलाई कारबाही नगरी फाइल हराउनुले दूषित उत्पादन गर्नेलाई थप प्रोत्साहन मिलेको उपभोक्ताको गुनासो छ ।
गत असारमा तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनको नेतृत्वको अनुगमन टोलीले आँगनको मिठाई बन्ने स्थानमा अखाद्य घ्यू, तेल र अन्य खाद्य वस्तु भेटेको थियो । पशुपति फुड प्रालिबाट उत्पादित आँगन मिठाइको खुवामा कोलिफर्मको मात्रा अत्यधिक भेटिएको थियो ।
प्रशोधित खाद्य पदार्थमा कोलिफर्मको मात्रा शुन्य हुनुपर्ने भए पनि मिठाईमा उच्च फेला परेको थियो । कोलिर्फम सरसफाइमा बेवास्ता गर्दा फोहोर खाद्यान्न र पानीको प्रयोगबाट उत्पन्न हुने जीवाणु हो । चिकित्सकका अनुसार कोलिफर्मयुक्त खाद्य पदार्थ खाँदा झाडापखालासहित विभिन्न संक्रामक रोग लाग्छ ।
ललितपुर औद्योगिक क्षेत्रभित्र रहेको मिठाइ बनाउने ठाउँमा अनुगमन गरिएको थियो । त्यतिबेला मिठाइमा प्रयोग भएको घ्यूतेलमा झिंगा र कमिला डुबेर मरेको भेटेपछि टोलीले नमूना लिएर त्यसलाई नष्ट गरेको थियो ।
यसैबीच, म्याद नाघेका सामान बिक्री गर्ने सेलवेयज क्यास एण्ड क्यारीलाई कारबाही गर्न रायका लागि सरकारी वकिलकहाँ पठाएको मुद्दाको जवाफ अझै नआएको विभागले जानकारी दिएको छ ।
विभागका शाखा अधिकृत दिपकराज पोखरेलले हप्ता दिनदेखि महिना दिनसम्ममा रायको जवाफ आइसक्ने भएपनि जवाफ आउन लामो समय लाग्दा कारबाही प्रक्रिया नै ढिला हुने गरेको कारोबारमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्