काठमाडौं, १२ माघ । बभनगामाकटी गाविस–३ तोपाका केही युवायुवतीको बिहेको कुरा छिनिएको निकै भइसक्यो । तीमध्ये दुईजनाको त मंसिरमै बिहे भइसक्नुपर्ने थियो । तर माघ दोस्रो साता लागिसके पनि त्यसको कुनै सुरसार छैन ।
कारण– रोजगारीका लागि विदेशिएका गाउँका एक युवाको उतै मृत्यु भए पनि अन्त्येष्टिका लागि शव ल्याउन नसक्दा सगोत्रीभित्र पर्ने ६० घरमा दुई महिनादेखि धार्मिक–सांस्कृतिक कार्य हुन पाएको छैन । बेचन मण्डलका छोरा बहादुरको दुई महिनाअघि साउदी अरबमा मृत्यु भए पनि परिवारले उनको शव ल्याउन नसकेको हो ।
बहादुरको सद्गत हुन नसक्दा टोलैभरिका अधिकांश पुरुषले २ महिनायता कपालदाह्री काटेका छैनन् । दियादी ९सगोत्री० भित्र कसैको मृत्यु हुँदा विधिपूर्वक किरियाकर्म नभएसम्म धार्मिक–सांस्कृतिक कार्य नगर्ने प्रचलन छ ।
यस्तो बेला माछामासु नखाने र कपालदाह्रीसमेत नकटाउने परम्परा भएकाले अहिले टोलैभरिका पुरुष जोगीजस्तै देखिएको स्थानीय सीताराम मण्डलले बताए । ‘बहादुरको शवको सद्गत हुन नसक्दा टोलका सबै ६० घरमै धार्मिक काम रोकिएको हो,’ कुरो छिनिइसके पनि आफ्नी छोरीको बिहे गर्न नपाएका शिवकुमार मण्डलले भने, ‘धार्मिक र सामाजिक परम्परा मान्नै पर्यो । सद्गत नहुँदासम्म कसरी छोरीको बिहे गर्नु ?’ उनका अनुसार ६ युवायुवतीको कुरा छिनिए पनि बिहे रोकिएको छ ।
परिवारले बहादुरको शव ल्याउने प्रयास नगरेको होइन । ‘पाँच पटक परराष्ट्र मन्त्रालय धायौं,’ बेचनले भने, ‘निवेदन दिएको पनि धेरै समय भयो तर छोराको शव कहिले आउँछ भनेर कसैले केही भन्दैनन् ।’
रोजगारीमा पठाउने काममा संलग्न म्यानपावर कम्पनीले पनि आश्वासन मात्रै दिएको उनले बताए । ‘एक पटक २ जना काठमाडौं जाँदा कम्तीमा १० हजार रुपैयाँजति खर्च हुन्छ,’ बेचनले भने, ‘शव ल्याउने पहलका लागि काठमाडांै जाँदा र मान्छे पठाउँदा ५० हजार रुपैयाँभन्दा बढी खर्च भइसक्यो । तर शव आउनेबारे टुंगो हुन सकेको छैन ।’
वैदेशिक रोजगारीबारे कार्यरत सबल नेपालका कार्यक्रम अधिकृत चन्दन यादवका अनुसार २००८ यता सप्तरीबाट वैदेशिक रोजगारीमा गएकामध्ये १ सय ६ जनाको मृत्यु भएको छ । सन् २०१६ मा मात्रै ९ जना र २०१७ लागेयता २ जनाको मृत्यु भएको छ । तीमध्ये साउदी अरबबाट २ जना र जोर्डनबाट एक जनाको शव आउन बाँकी रहेको उनले बताए ।
४४ वर्षे बहादुर २००९ देखि वैदेशिक रोजगारीमा खट्दै आएका थिए । सात वर्ष मलेसियामा काम गरी फर्केका उनी दुई वर्षअघि काठमाडौंको सामाखुसीस्थित प्रिसियस इन्टरनेसनल प्रालि नामक म्यानपावरबाट साउदी अरब गएको बुवा बेचनले बताए ।
कार्यरत कम्पनीमै पानीको ट्यांकरले थिचिएर मंसिर १४ गते बहादुरको मृत्यु भएको थियो । उनीसँगै सोही कम्पनीमा काम गर्ने टोलकै अन्य युवाले बहादुरको मृत्यु भएको खबर र फोटो पठाएका थिए । ‘छोरा त मरिगयो, कमसेकम अन्तिम संस्कार त विधिविधानअनुसार हुन सकोस्,’ बेचनले भने, ‘सरकारले शव ल्याउन सहयोग गरोस् ।’
बहादुरकी श्रीमती विमलादेवी बेलाबेला अचेत हुन्छिन् । ‘कमाएर मलाई र छोराछोरीलाई पाल्ने श्रीमान् त गए, एक पटक अन्तिम दर्शन गर्न पाए हुन्थ्यो,’ शोकाकुल विमलाले भनिन् । उनका छोरीहरू १७ वर्षीया संगीता, १२ वर्षीया रन्जिता र १० वर्षीया अमृता तथा १४ वर्षीय छोरा सन्तोष सबै शव कुरेर बसेको कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्