सम्पादकीय

निःशुल्क औषधि अभावः रित्तै हात फर्काइन्छन् बिरामी



काठमाडौं, १३ माघ । सुदूरका सरकारी स्वास्थ्य निकायमा सरकारले निस्शुल्क दिने औषधिमध्ये सिटामोल समेत अभाव देखिएको छ । सुगम र दुर्गम क्षेत्रका बिरामी सामान्य औषधि किन्न निजी औषधि पसल धाउन बाध्य छन् ।

स्वास्थ्य मन्त्रालयले बजेट निकासा गरे पनि सम्बन्धित जिल्लाले औषधि खरिद गर्न ढिलाइ गरेको पाइएको छ । बाजुरको टाँटे स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी दुई सातायता तनावमा छन् ।

दैनिक सय हाराहारी बिरामी आउने उक्त स्वास्थ्य चौकीमा निस्शुल्क घोषणा गरिएका ७० प्रकारका औषधि के सिटामोलसमेत पाइँदैन । ‘सिटामोलसमेत नभएर निजी मेडिकलमा किन्न पठाउँछौं,’ स्वास्थ्य चौकी इन्चार्ज दीपक शाहले भने ।

ग्रामीण क्षेत्रका सबैजसो स्वास्थ्यसंस्थामा औषधिको चर्को अभाव छ । डोगडी स्वास्थ्य चौकीमा पनि सिटामोलसमेत छैन । गत महिना डोगडीमा पञ्जासमेत पखालेर पुनः प्रयोग गर्नुपर्ने बाध्यता रहेको खबर सार्वजनिक भएको थियो ।

बझाङका स्वास्थ्य संस्थामा पनि एक महिनायता औषधिको चरम अभाव छ । निःशुल्क भनिएका औषधि नै किन्नुपर्ने बाध्यता आएको स्थानीय बताउँछन् । ‘स्वास्थ्यचौकीमा जाँच मात्र गर्छन्, औषधि मेडिकलबाट किनेर खानू भनेर लेखिदिन्छन्,’ मेलबिसौनाकी दुर्गा सिंहले भनिन्, ‘निस्शुल्क पाउने औषधि पनि महँगो तिरेर किन्नुपरेको छ ।’

जिल्लाका स्वास्थ्यसंस्थामा सिटामोलदेखि अत्यावश्यक एन्टिबायोटिक, मेट्रोनिडाजोल, डाइजिन पनि अभाव रहेको स्वास्थ्यकर्मी बताउँछन् । ठेकेदारहरूले समयमा आपूर्ति नगर्दा अभाव चर्किएको उनीहरूको भनाइ छ । स्वास्थ्यचौकीबाट वितरण गर्ने भनिएका ३५ प्रकारका औषधिमध्ये अधिकांश सकिएका छन् । ‘महिलाले प्रयोग गर्ने आइरन चक्की र परिवार नियोजनका अस्थायी साधनबाहेक सबै औषधि सकिएको छ,’ एक स्वास्थ्य चौकी इन्चार्जले भने ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराले कात्तिकयता ग्रामीण क्षेत्रका स्वास्थ्य केन्द्रमा औषधि पठाएको छैन । ‘कात्तिकदेखि औषधि गएको छैन,’ कार्यालयका स्टोरकिपर तेजबहादुर साउदले भने, ‘अब पठाउँछौं ।’ औषधि अभावबारे जिल्ला र चौकीका कर्मचारीबीच जुहारी चल्ने गरेको छ । जिल्लाले भने औषधि पर्याप्त रहेको दाबी गरिरहेको छ । ‘हामीले औषधि खरिद गरिसकेका छौं,’ स्टोर किपर साउदले भने । चौकी इन्चार्ज भने माग फारम भरेर पनि रित्तै फर्काएको गुनासो गरेको कान्तिपुरमा समाचार छ ।