काठमाडौँ, २० माघ । घोषित स्ववियु निर्वाचनमा २८ वर्षीय उमेर हदका विषयलाई लिएर आवाज उठाइरहेको नेपाल विद्यार्थी सङ्घ नेविसङ्घलाई निर्वाचनमा सशक्त ढङ्गले अघि बढ्न पार्टी नेतृत्वले आग्रह गरेको छ ।
नेपाली काँग्रेसका शीर्ष नेताले आज काठमाडौँ उपत्यकाका नेविसङ्घका नेतालाई बोलाएर छलफल गरी यस्तो निर्देशन दिएको हो । काँग्रेस संसदीय दलमा भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले २८ वर्ष कटिसकेकालाई पार्टीले थप जिम्मेवारी दिने बताउँदै हाललाई निर्वाचनमा केन्द्रित हुन आग्रह गरेको नेविसङ्घका एक नेताले जानकारी दिए।
बैठकमा उमेर हद हटाउने या राख्नेबारे छलफल भई फरक फरक धारणा आएकाले शुक्रबार शीर्ष नेतृत्वले टुङ्गो लगाउने निर्णय भएको नेविसंघका एक नेताले वताए ।
बैठकमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधानमन्त्री समेत रहनुभएका नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइरालालगायतको सहभागिता थियो । नेविसङ्घले एक पटक उमेर हद हटाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने मागसहित एक सातादेखि विरोधका कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्