शैक्षिक

निर्धारित समयमा नै चक्रपथ विस्तार र अरनिको राजमार्गको काम सकिने दाबी



काठमाडौँ, २१ माघ । भौतिक पूर्वाधारसँग सम्बन्धित चीनको सहयोगमा सञ्चालित आयोजनाका काम तोकिएको समयमा सम्पन्न हुनुपर्नेमा जोड दिइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री रमेश लेखक र नेपालका लागि चिनियाँ राजदूत यु होङले दुई सरकारबीच सम्झौता भई काम भइरहेको चक्रपथ विस्तार आयोजना र अरनिको राजमार्गको काम समयमै सक्ने विषयमा छलफल भयो ।

सो अवसरमा दुवैतर्फबाट आएका समस्या समाधानमा जोड दिइएको र पूर्वाधारका थप आयोजनामा सहयोगका विषयमा छलफल भएको मन्त्रालयका सचिव धनबहादुर तामाङले जानकारी गराए ।

अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको मर्मतसम्भार छिटो सम्पन्न गरी कोदारी नाका खुलाउने सम्बन्धमा पनि उहाँहरुबीच छलफल भएको थियो । चीन सरकारको सहयोगमा सञ्चालित चक्रपथ विस्तार आयोजना गत वर्षको भूकम्प र भारतको नाकाबन्दीले ढिला भएको थियो । भूकम्पपछि क्षति पुगेको अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्ड चिनियाँ सरकारकै सहयोगमा मर्मतसम्भार भइरहेको छ । हाल सो मार्ग सञ्चालनमा आउन सकेको छैन ।