सम्पादकीय

दाइजोमा लैनो भैंसी नपाएपछि विवाह नै रद्द



महोत्तरी, २२ माघ । महोत्तरीको बर्दीबास नगरपालिका ८ फूलबारी टोलका ५५ वर्षीय रामप्रकाश कापरले १९ वर्षीय छोरी अमृताको विवाह गर्ने निधो गरे ।

केटाको बुबाले ५ लाख नगद दिए मात्र विवाह गर्ने शर्त राखे । ‘म गरिब छु । ५ लाख दिन सक्दिन’ अमृताका बाबु रामप्रकाशले हुनेवाला सम्धी (केटाका बाबु) सँग भने । रामप्रकाशले आफ्ना सबै दुःख पीडा केटाका बाबु दुःखी कापरसँग पोखे ।

अनुनय विनय गर्दा बल्तल्ल केटा पक्ष १२५ सिसि होन्डासाइन मोटरसाइकल र नगद गरेर ३ लाख ५० हजारमा राजी भयो । माघ ९ गते विवाह गर्ने दिन तय गरियो । विवाह खर्च जुटाउन र केटा पक्षलाई तय गरिएको दाइजो रकम जोरजाम गर्न उनले ऋण खोज्न थाले ।

प्रति कट्टा २ लाख ५० हजारमा बिक्री हुने जग्गा उनी बाध्य भएर प्रति कट्टा १ लाख ५० हजारको दरले ४ लाख ५० हजारमा बेचे । बर्दीबासमा केटा पक्षलाई बोलाएर माघ ७ मा ना ४१ प ९१९३ नम्बरको होन्डा साइन मोटरसाइकल १ लाख ९० हजारमा किनिदिए । सोही दिन १ लाख ६० हजार नगद पनि दिएर केटा पक्षले मागेको सबै दाइजो पुरा गरिदियो । रामप्रकाशले ऋण काढेर केटाको सबै परिवारलाई ५६ हजार खर्च गरी लुगाफाटो खरिद गरी जिम्मा लगाए ।

धुमधामसँग तोकिएको मितिमा विवाह भयो । भोलिपल्ट खान खाने समयमा उनको ज्वाई रौदिको जवाफ दिए, ‘दाइजोमा लैंनो भैंसी दिए मात्र भात खाने । नभए नखाने ।’ बेहुला बेहुली बिना जन्ती घर फर्कियो । माघ ११ गते घटना गाउँलले मिलाउने गरी प्रहरीले गाउँलेलाई जिम्मा लगाए ।

दाइजो फिर्ता गरी केटा पक्ष घर फर्कियो । बाबुले दाइजोमा लैंनो भैंसी दिन नसक्दा सिन्दुर हालेको दुई दिन नवित्दै अमृताको सिँउदोको सिन्दुर, गलाको पोते र हातको चुराले सजिएको उनको खुशी खोसिएको अन्नपूर्ण पोष्टमा समाचार छ ।