काठमाडौं, २३ माघ। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेता महन्थ ठाकुरले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनैपनि चुनाव हुन नसक्ने स्पष्ट पारेका छन ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता ठाकुरले भने,‘संविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव हुँदैन्, पहिला संशोधन प्रस्ताव पारित गर्नुपर्छ, संशोधन प्रस्तावमा छलफल गरेर यदि पारित भए पनि नभएपनि चुनावमा मोर्चा जान्छ भनेर कसैले सोचेको छ भने त्यो सपना दिवा सपना हो।’
उनले काँग्रेस–माओवादी केन्द्रको गठबन्धनले प्रस्ताव पारित गराउनै पर्ने जिकिर गरे े।
लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि अरुलेजस्तै आफूहरुपनि सँगै लड्दै आएको उल्लेख गर्दै भने,‘हामी चुनावको विरोधी होईनौं, तर समस्याको समाधान नगरी गरिने कुनैपनि चुनावले देशलाई निकास दिँदैन्, त्यसैले पहिला समस्याको समाधान गर्नुपर्छ ।’
तमलोपाका अध्यक्ष समेत रहेका नेता ठाकुरले संविधान संशोधन नगरी गरिने कुनैपनि चुनावमा मधेशी मोर्चाले भाग नलिने बताउँदै भने,‘यदि यो सरकारले बलपुर्वक, लाठी र बन्दुक चलाएर चुनाव गर्न खोजे जटिल अवस्था उत्पन्न हुन्छ ।’
ठाकुरले राज्यले जनताका जायज माँगहरुलाई हिंसाद्धारा दबाउँदै आईरहेको आरोप लगाए । उनले भने,‘राजनीतिक समस्याको समाधान राजनीतिक रुपमै हल गर्नुपर्छ, संवैधानिक समस्याको समाधानपनि संवैधानिक रुपमै गर्नुपर्छ, अहिलेको समस्या पनि राजनीतिक हो, त्यसैले यसको समाधान राजनैतिक रुपमै हुनुपर्छ।’
प्रतिक्रिया दिनुहोस्