काठमाडौं, २७ माघ । नेपालको छिमेकी मुलुकहरू भारत र चीनसँगको सम्बन्ध यसरी चल्दैछ ।
भारतसँग उपलब्धि
– भारतीय सहुलियत ऋणमा महाकाली पुल तथा सिँचाइ परियोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) टुंग्याउने सहमति
– तराई रोड दोस्रो तथा अन्य केही परियोजनाका लागि नयाँ सहुलियत ऋण उपलब्ध गराउने निर्णय
– विराटनगर–जोगबनी तथा बर्दिबास–बिजलपुरा–जयनगर गरी दुईवटा सीमापार रेल्वे परियोजना चाँडै सम्पन्न गर्ने सहमति
– तीनवटा अन्य सीमापार रेल्वे परियोजना (नेपालगन्ज–नेपालगन्ज रोड, काँकडभिट्टा–न्यु जलपाइगुडी तथा भैरहवा–नौतनहवा) चाँडै नै सुरुवात गर्ने सहमति
– हेटौँडा पोलिटेक्निक निर्माण कार्य चाँडै सुरुवात गर्ने सहमति
– पुनर्निर्माणका लागि भारत सरकारले दिएको अनुदान तथा ऋणका परियोजनालाई चाँडै नै टुंग्याइने सहमति
– भारतीय पूर्वाधार तथा सडकका कारण नेपाली सीमावर्ती गाउँ र बजारहरूको डुबानबारे नेपालले चासो राख्दा समस्या देखिएका ठाउँमा – संयुक्त निरीक्षण गर्न दुवै पक्ष सहमत
चीनसँग उपलब्धि
– नेपाल–चीन पारवहन तथा यातायात सम्झौताको आउटलाइनमा सहमति। नेपालले मस्यौदा प्रोटोकल तयार गरी चिनियाँ पक्षलाई राय–सुझाबका लागि पठाउने सहमति। यसबारे वाणिज्य मन्त्रालयसँगको समन्वयमा अन्तिम मस्यौदा तयार हुँदै।
– कार्गो यातायातसम्बन्धी प्रोटोकलमा तिब्बत हुँदै नेपालका उत्तरी जिल्ला जाने नयाँ मार्ग थप गर्नेलगायतका विषयमा छलफल ।
– पुनर्निर्माणका लागि चीनले दिने भनेको ३ अर्ब चिनियाँ युआनमध्ये रसुवागढी–स्याफ्रुबेसी सडकको मर्मतसम्भार, निजामती अस्पतालको स्तरोन्नतिलगायतका परियोजनामा खर्च हुने रकम उपलब्ध गराउने समझदारीपत्रमा चीनका लागि नेपाली राजदूत तथा चिनियाँ वाणिज्य मन्त्रालयका पदाधिकारीबीच हस्ताक्षर ।
– तिब्बतका राजमार्ग उपयोगसम्बन्धी प्रोटोकलमा चिनियाँ पक्षबाट मस्यौदा प्राप्त भएको र चीनलाई जवाफ पठाउने तयारी। छिट्टै नेपालमा सशोधित प्रोटोकलमा छलफल गरी हस्ताक्षरका लागि नेपालमा बैठक आयोजना गर्ने सहमति।
मुखर्जी आए, सी आएनन्
(साउन १९ मा प्रधानमन्त्री भएलगत्तै प्रचण्डले छिमेकलाई उच्च र समान प्राथमिकता दिएर दुई उपप्रधानमन्त्रीलाई उत्तर र दक्षिण पठाए ।
उपप्रधानमन्त्री विमलेन्द्र निधिले २–७ भदौसम्म भारत भ्रमण गरे। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित सबै शीर्ष नेतासँग भेटवार्ता गरे । नाकाबन्दीदेखि बिग्रेको सम्बन्ध सुधारको सुरुवात निधिको भ्रमणले गर्यो। फलस्वरूप भदौ ३०–२ असोजसम्म प्रधानमन्त्री प्रचण्डको दिल्ली भ्रमण र १७ कात्तिकदेखि भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण भयो ।
त्यस्तै, उपप्रधानमन्त्री कृष्णबहादुर महराले १–४ भदौसम्म चीन भ्रमण गरे। महराले पनि चिनियाँ प्रधानमन्त्री ली खछियाङसहित उच्च अधिकारीसँग भेटवार्ता गरे । निधिको मिसन थियो– प्रधानमन्त्री प्रचण्डको राजकीय भारत यात्रा गराउने । महराको मिसन थियो– चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका लागि परिस्थिति मिलाउने ।
तर, सीको नेपाल भ्रमण अझै निश्चित भएको छैन । राष्ट्रपति सी नेपाल नआए पनि गोवामा ३० असोजमा आयोजित ब्रिक्स र बिमस्टेकको सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग वार्ता गर्ने अवसर पाए। सीसँगको औपचारिक र भारतीय प्रधानमन्त्री मोदीसमेतको उपस्थितिमा अनौपचारिक छलफलमा नेपाललाई त्रिदेशीय विकासको साझेदार बनाउन आफुले उल्लेखनीय प्रस्ताव राख्न पाएको प्रधानमन्त्रीको दाबी रहेको नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्