काठमाडौं, २८ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयको मौनता तोड्दै आफ्नो दृष्टिकोणसहित चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पहिलो प्रत्यक्षपत्र पठाएका छन् । जिनपिङलाई पत्र पठाउँदै उनले आफूले चीनसँग रचनात्मक सम्बन्ध चाहेको उल्लेख गरेका छन् ।
राष्ट्रपतिको पदभार ग्रहण गरेपछि उनले विश्वका विभिन्न देशका राष्ट्र तथा सरकारप्रमुखसँग टेलिफोन वार्ता गरे पनि विश्वको शक्तिशाली राष्ट्र चीनसँग अहिलेसम्म उनले कुराकानी गरेका थिएनन् । पत्रमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई आफू राष्ट्रपतिमा निर्वाचित भएकामा बधाई दिएकोमा धन्यवाद दिएका छन् ।
चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लु काङले यस पत्रलाई चीनले महत्वका साथ लिएको बताएका छन् । चीनले अमेरिका र चीनबीच युद्ध भएमा दुवैलाई फाइदा नहुने भन्दै सहकार्य नै दुवै देशको विकल्प भएको बताएको छ ।
ट्रम्पले चिनियाँ लुनार नयाँ वर्षको अवसरमा शुभकामनासमेत दिएका छन् । चीनले जनवरी २८ मा मनाएको नयाँ वर्ष र शनिबार मनाउन लागेको लान्टेर्न पर्वका अवसरमा ट्रम्पले पत्रमार्फत शुभकामना दिएका हुन् । सोही दिन चीनको नयाँ वर्ष मनाउने कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको मानिन्छ ।
उनले पठाएको पत्रमा चीनले रचनात्मक सम्बन्ध विकास गरेको हेर्न चाहेको र यसबाट दुवैलाई फाइदा हुने जनाएका छन् । यसअघि सिड्नीमा रहेका चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पनि अमेरिका र चीन लडेमा दुवैलाई नोक्सान हुने बताएका थिए ।
ट्रम्पले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार भएदेखि नै चीनविरुद्ध व्यापार र चीनको नीतिलाई लिएर कडा अभिव्यक्ति दिँदै आएका थिए । पछिल्ला समयमा उनले ताइवान र दक्षिण चीन सागरका विषयमा दिएका विवादास्पद भनाइका कारण दुई देशबीचको सम्बन्ध शीतयुद्धको अवस्थामा पुगेको थियो । उनले ताइवानकी राष्ट्रपति साई इङ–वेनसँग टेलिफोन कुराकानी गरेर चीनलाई चिढ्याएका थिए ।
चीनले ताइवानलाई आफ्नो अभिन्न अंगका रूपमा मान्दै आवश्यक परेमा सैनिक प्रयोग गरेर मुख्य भूमि चीनमा नै फर्काउने बताउँदै आएको छ । अमेरिकाले सन् १९७९ मा ताइवानसँगको औपचारिक कूटनीतिक सम्बन्धलाई तोडेर एक चीन नीतिलाई स्वीकार गरेको थियो ।
सन् १९४९ मा माओको नेतृत्वमा चीनमा जनवादी गणतन्त्र स्थापना भए पनि राष्ट्रसंघले सन् १९७१ सम्म ताइवानलाई नै चीनको प्रतिनिधिको रूपमा लिने गरेको थियो । त्यसपछि ताइवानलाई हटाउँदै चीनलाई राष्ट्रसंघ स्थायी समितिमा पुनःस्थापना गर्दै ताइवानलाई हटाएको थियो ।
अमेरिकाले ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेपछि ताइवानका नेतासँग कुनै पनि अमेरिकी राष्ट्रपतिले औपचारिक कुराकानी गर्ने गरेका थिएनन् । ट्रम्पको यस कदमलाई चीनले एक चीन नीतिविरुद्धको कदम भएको भन्दै विरोध गर्दै आएको थियो ।
गत डिसेम्बरमा ट्रम्पले ट्वीट गर्दै चिनियाँ व्यपार नीति र दक्षिण चीन सागरबारे विवादास्पद भनाइ राख्नुका साथै एक चीन नीति बहसको विषय भएको बताएका थिए । त्यसलगत्तै चीनले ट्रम्पलाई एक चीन नीति बहसको विषय नभएको र यही आधारमा अमेरिका–चीन कूटनीतिक सम्बन्ध स्थापित भएको नबिर्सन चेतावनी दिएको राजधानीमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्