सम्पादकीय

पशुपतिशमशेर र कमल थापाको सम्बन्ध कहिल्यै सौहार्द हुन सकेन



काठमाण्डौ२९ माघ । राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर राणा र अध्यक्ष कमल थापा अहिले एकता महाधिवेशनको तयारीमा जुटेका छन् । ६–९ फागुनमा हुने महाधिवेशनमा दुवै अध्यक्षका आकांक्षी पनि हुन् । राणा र थापाले तीन दशकभन्दा बढी सँगसँगै राजनीति गरे पनि दुवैको सम्बन्ध कहिल्यै सौहार्द भएन । तैपनि उनीहरू कहिले एउटै त कहिल्यै फरक पार्टीमा रहेर प्रतिस्पर्धा गरिरहेका छन् । दुई राप्रपा एक भएपछि राष्ट्रिय अध्यक्ष बनेका राणाले सहमतिअनुसार डा। प्रकाशचन्द्र लोहनीलाई जिम्मेवारी सुम्पेका छन् । तर, आगामी महाधिवेशनमा राणा पुनः अध्यक्ष बन्ने प्रयासमा लागेका छन् ।

फरक पृष्ठभूमिका राणा र थापा

राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले पञ्चायती शासनकालमा बौद्धिक नेताको छवि बनाएका थिए । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेर नेपाल फर्केका उनले २०२४ सालतिर स्थानीय विकास मन्त्रालयमा केही समय काम गरे । प्रधानमन्त्री सूर्यबहादुर थापाले राणासहित करारमा कार्यरत केही कर्मचारीलाई जागिरबाट हटाएपछि उनले २०२८ सालमा त्रिभुवन विश्वविद्यालयको अनुसन्धान केन्द्रका रूपमा सेडा स्थापना गरे । सेडाका संस्थापक डाइरेक्टर रहेका राणा निर्देशकको कार्यकाल सकिएपछि राजनीतिमा आएका हुन् । २०३२ सालमा वनमन्त्री नेत्रविक्रम थापाको सहयोगमा उनी सिन्धुपाल्चोकमा राष्ट्रिय पञ्चायतको उम्मेदवार बने । राणा निर्वाचित भए पनि नेत्रविक्रम थापा भने रापसको चुनाव पराजित भएको राप्रपा नेता वसन्तमानसिंह अधिकारी बताउँछन् । राणा २०३५ सालमा शिक्षा राज्यमन्त्री भए । २०३८ सालमा सुधारिएको पञ्चायतका लागि उनी सिन्धुपाल्चोकबाट निर्वाचित भएका थिए ।

निरन्तर सिन्धुपाल्चोकबाट राजनीति गरेका राणा २०६४ र २०७० को संविधानसभा निर्वाचनमा भने पराजित भए । तत्कालीन राणा प्रधानमन्त्री मोहनशमशेरका नाति पशुपति पञ्चायतकालमा दरबारको ‘प्यारो’ भने हुन सकेनन् । दरबारले पूर्णतः विश्वास नगरेका पशुपतिका बाबु विजयशमशेर भारतका लागि राजदूत थिए । राजनीतिक पृष्ठभूमिबाट आएका राणा प्राज्ञिक नेताका रूपमा चिनिन्छन् ।

राप्रपा अध्यक्ष कमल थापाको पारिवारिक पृष्ठभूमि सैनिक र खेलाडी हो । थापाका बुबा आर्मीको कर्णेल थिए भने थापा आफैँ फुटबल खेलाडी थिए । उनी टेनिस खेलाडी पनि हुन् । थापा काठमाडौँ खेल मण्डलको टिमबाट फुटबल खेल्थे । दरबारले नै उनलाई विद्यार्थी संगठनतिर तानेको थियो । त्यतिवेला उनी राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आबद्ध थिए । विद्यार्थी मण्डलको पहिलो अध्यक्ष पदम ठकुराठी थिए भने दोस्रो अध्यक्ष कमल थापा भए । मण्डलमा निरञ्जन थापासमेत आबद्ध थिए ।

थापा पछि ‘गाउँ फर्क अभियान’को नारायणी अञ्चल सदस्यसमेत थिए । राष्ट्रिय पञ्चायतको निर्वाचनमा पराजित भएका थापा युवक संगठनको केन्द्रीय सभापतिमा निर्वाचित भएका थिए । जनमतसंग्रहभन्दा अगाडि राजनीतिक छवि निर्माण गरेका थापा दरबारको प्रभावमा २०३७ सालपछि संविधान सुधार गर्न पञ्चायतले गठन गरेको ‘संविधान सुधार सुझाव आयोग’को सदस्यसमेत भएका थिए । २०३८ सालको राष्ट्रिय पञ्चायतमा पराजित थापा २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भए । उनी मरिचमान सिंह प्रधानमन्त्री हुँदा सञ्चारमन्त्री भएका थिए ।

थापाभन्दा पशुपति वरिष्ठ

राणा राजनीति र प्राज्ञिक अभ्यासमा थापाभन्दा वरिष्ठ हुन् । २०३३ सालपछिको राजनीतिक समीकरण निर्माणमा राणा सक्रिय रहन्थे । प्रधानमन्त्री फेरबदलसम्ममा भूमिका खेल्थे, तर थापा त्यस्तो भूमिकामा थिएनन् । थापा राणाभन्दा जुनियर भएका कारण पनि सत्ता समीकरणमा सक्रिय नहुने गरेको थापा निकटहरूको भनाइ छ । बहुदल कालमा पनि राणाले सधैँ सिनियरका रूपमा काम गरे ।

सूर्यबहादुरको पक्षमा थापा

२०३६ सालको जनमतसंग्रहका वेला सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । त्यतिवेला तराईमा व्यापक जंगल फँडानी भएको थियो । सूर्यबहादुरले जंगल फँडानी गरेर अनियमितता गरेको आरोप लगाउने समूहको नेतृत्व राणाले गरेका थिए । सूर्यबहादुरहरूको चर्को आलोचना गर्नेमा राणा समूहमा डा।प्रकाशचन्द्र लोहनी, हेमबहादुर मल्ल, पद्मसुन्दर लावतीहरू थिए । उनीहरूलाई पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले साथ दिएका थिए । यो क्रम पञ्चायतको उत्तराद्र्धमा उत्कर्षमा पुगेको थियो । २०४० सालमा राणा, लोहनी, मल्लहरूको असहयोगकै कारण सूर्यबहादुरको सरकार ढल्यो । र, चन्दको नेतृत्वमा सरकार बन्यो । चन्द सरकारमा गृहमन्त्री पद्मसुन्दर लावती र स्थानीय विकासमन्त्री राणा भए । यी सबै घटनामा कमल थापा भने सूर्यबहादुरकै पक्षमा थिए ।

‘भूमिगत गिरोह’को सदस्य थापा

पञ्चायतकालमा ‘भूमिगत गिरोह’ भन्ने एउटा चर्चित समूह सक्रिय थियो । तर, त्यसबारे सबैलाई धेरै जानकारी हँुदैनथ्यो । त्यही गिरोहको सदस्यका रूपमा कमल थापाले काम गर्ने गरेको पञ्चायत राजनीतिमा सक्रिय नेताहरूको भनाइ छ । खासगरी तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापानिकट रहेर काम गरेका कमलले दरबारसँग पनि सम्बन्ध बनाएका थिए । दरबारनिकट शरद्चन्द्र शाहसँग राम्रो सम्बन्ध बनाएका कमलले उनीमार्फत तत्कालीन राजा वीरेन्द्रका भाइ धीरेन्द्र शाहसँग सम्बन्ध विस्तार गरेका थिए । यो भूमिगत गिरोहमा शरद्चन्द्र शाहहरूको समेतसाथ थियो ।

अनि उदाए थापा

२०४३ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन भयो । त्यतिवेला राणा सिन्धुपाल्चोकबाट निर्वाचित भए । त्यसको केही समयपछि मरिचमान सिंहको नेतृत्वमा सरकार बन्यो । सिंह मन्त्रिपरिषद्मा राणा अटाएनन् । र, मन्त्री बन्ने पहिलो अवसर पाए थापाले । उनी सञ्चार राज्यमन्त्री भएका थिए । मन्त्री भएपछि उनले कलाकार, पत्रकार र वकिललाई एक लाइन टेलिफोन सेवा उपलब्ध गराएका थिए । सिंह नेतृत्वको सरकार परिवर्तनपछि २५ चैत २०४६ मा पुनः चन्द नेतृत्वको सरकार गठन भयो । सो सरकारमा राणा जलस्रोतमन्त्री थिए । राणा र थापा पञ्चायतकालमा मन्त्री बने पनि एउटै मन्त्रिपरिषद्मा बसेर सँगै काम गर्ने अवसर भने जुटेन ।

बहुदलपछि पनि फरक कित्ता

पूर्वपञ्चहरूले २०४६ सालपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको नाममा पार्टी स्थापना गरे । पञ्चायतकालदेखि नै फरक गुटमा काम गरेका उनीहरू नयाँ पार्टी गठन गर्दा पनि एक हुन सकेनन् । १५ जेठ २०४७ मा एकै दिन राप्रपा चन्द र राप्रपा थापा नामका दुई पार्टी स्थापना भए । खासमा पूर्वपञ्चहरूको एउटै पार्टी खोल्ने तयारी थियो र पार्टीको नाम पनि राप्रपा भनेर निर्णय भइसकेको थियो । तर, निर्वाचन आयोगमा पहिले नै सूर्यबहादुर थापा अध्यक्षको नाममा ९राप्रपा थापा० दर्ता भयो । त्यसै दिन लोकेन्द्रबहादुर चन्द अध्यक्ष रहेको ९राप्रपा चन्द० दर्ता भयो । चन्द समूहको राप्रपाको महामन्त्री राणा भने थापा समूहको राप्रपाको प्रवक्तामा थिए कमल थापा ।

टुटफुटमा राप्रपा

राप्रपाका नेताहरू पञ्चायतकालदेखि नै टुटफुट र षड्यन्त्रमा लागेका थिए । त्यो २०४६ सालपछि पनि निरन्तर रह्यो । जसका कारण पूर्वपञ्चहरूको पार्टी निरन्तर टुटफुटबाट गुज्रिरह्यो । व्यक्तिगत टकराव र सत्ता राजनीतिले विभाजन र शत्रुतापूर्ण व्यवहार खुलेआम हुन थाल्यो राप्रपामा । २०४८ सालको संसदीय चुनावमा दुवै राप्रपा कमजोर भए । राजनीतिक दलसम्बन्धी ऐनमा ३ प्रतिशत थ्रेसहोल्डको व्यवस्था उल्लेख गरिएको थियो । दुवै दलले ३ प्रतिशत मत भने ल्याए । राणा सिन्धुपाल्चोकबाट निर्वाचित भए । तर, थापा समूहबाट भने दार्चुलाबाट अकबरबहादुर सिंह मात्रै निर्वाचित भए । कमल थापा मकवानपुरमा पराजित भए ।

निर्वाचनमा नराम्रो हार व्यहोरेपछि दुवै राप्रपा एकताको पक्षमा लागे । २०४९ सालमा दुवै पार्टी एक भएर राप्रपा बन्यो । एकतापछि २०५१ सालको मध्यावधि निर्वाचनमा राप्रपाले २० सिट जित्योे । राणा र थापा आ–आफ्नो निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आए । तेस्रो दल बनेको राप्रपा सरकार निर्माणमा खेलाडी दलको रूपमा देखा पर्‍यो । तर, त्यही सत्ताले राप्रपालाई विभाजनमा पुर्‍यायो । एमालेका नेता मनमोहन अधिकारी नेतृत्वको सरकार गिराएर कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै राप्रपा सत्तामा पुग्यो । देउवा सरकारमा कमल थापा स्थानीय विकासमन्त्री भए ।

देउवा सरकार ढालेर २०५४ सालमा एमालेको सहयोगमा राप्रपा नेता चन्दको नेतृत्वमा सरकार बन्यो । लामो समय राप्रपाको राजनीतिमा लागेका सर्वेन्द्रनाथ शुक्लाका अनुसार त्यतिवेला थापा स्थानीय र परराष्ट्रमन्त्री भए । पछि कांग्रेससँग मिलेर राप्रपाकै सूर्यबहादुरको नेतृत्वमा सरकार बन्यो ।

अनि फेरि फुट्यो राप्रपा

विवादका बीच २०५४ साल फागुनमा फेरि राप्रपा फुट्यो । विभाजनपछि सुरुमा नयाँ राप्रपा नाम दिइएकोमा पछि राप्रपा चन्द नाम राखेको राप्रपाका नेताहरूको भनाइ छ । २०५६ सालको आमनिर्वाचनमा राप्रपा चन्द समूहले एक सिट पनि जित्न सकेन । तर, थे्रसहोल्डअनुसार ३ प्रतिशत मत ल्याएर राष्ट्रिय दलको हैसियत भने कायम राख्यो । थापा समूहबाट भने त्यतिवेला ११ जनाले जितेका थिए । निर्वाचनबाट कमजोर बनेपछि २०५७ सालमा फेरि एकता भयो । दुई वर्षसम्म एकता टिके पनि २०५९ सालपछि पुनः विवाद सुरु भयो ।

१८ असोज २०५९ मा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवाको सरकार विघटन गरे । र, चन्द प्रधानमन्त्री बने । त्यसवेला सूर्यबहादुर राप्रपा अध्यक्ष थिए । राजाको सो कदमलाई ‘सूर्यबहादुरनिवास मालीगाउँको बैठकले परिस्थितिजन्य’ भनेर निर्णय ग¥यो । तर, चन्दलाई सहयोग गर्ने निर्णय भएन । त्यसवेला थापा समूहमै थिए कमल थापा पनि ।

ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि कमल थापाको ‘यु टर्न’

१९ माघ २०६१ मा राजा ज्ञानेन्द्रले पुनः देउवा नेतृत्वको सरकारलाई अक्षम भनी अपदस्थ गरी मुलुकको शासन हातमा लिए । राजाको सो कदमलाई राप्रपाबाट स्वागत गराउने प्रयास भयो । तर, अध्यक्ष राणा र पूर्वअध्यक्ष सूर्यबहादुर दुवै यसको विपक्षमा उभिए । त्यतिवेला कमल थापा भने दरबारको पक्षमा लागे । २६ र २७ पुस २०६२ मा काठमाडौंमा विशेष भेला बोलाएर राप्रपाको अध्यक्ष कमल थापा भएको घोषणा गरियो ।

२६ पुस २०६२ मा कमल थापाले विशेष महाधिवेशन बोलाएर मौजुदा केन्द्रीय सदस्यको बहुमतका साथ राप्रपा नेपाल पार्टीलाई जन्म दिए । उता, सूर्यबहादुरले राष्ट्रिय जनशक्ति पार्टी बनाए । २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ राप्रपाले ८, राप्रपा नेपालले ४ र जनशक्तिले ३ सिट प्राप्त गरे । त्यसपछि राप्रपा नेपालले हिन्दू धर्मको मुद्दालाई प्रमुख बनायो । राप्रपा भने आन्तरिक विवादमै रुमल्लियो । २०६९ सालमा जनशक्ति र राप्रपाबीच एकीकरण भयो । सूर्यबहादुरले पशुपतिलाई नेतृत्व दिए । ६(६ महिना आलोपालोमा गए, तर चन्दको पालोमा नपुग्दै विवाद आयो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा राप्रपा नेपालले समानुपातिकमा २५ सिट प्राप्त ग¥यो । राप्रपाले तीन प्रत्यक्षसहित १३ सिट जित्यो । सूर्यबहादुरको निधनपछि उनीहरूबीच समझदारी भयो ।

राणा र थापाबीच सधैँ तिक्ततापूर्ण सम्बन्ध

राणा र थापाबीच कहिल्यै सौहार्दपूर्ण सम्बन्ध भएन । वरिष्ठ भएकाले राणा थापालाई कमै वास्ता गर्दथे । २०५४ सालमा चन्द नेतृत्वको सरकारमा थापालाई शक्तिशाली मन्त्री बनाएर सूर्यबहादुरले पठाएपछि राणा आक्रोशित भएका थिए । यही घटनाले राणा र थापाबीच सम्बन्धमा चिसोपन आउन थालेको हो ।

२०५६ सालमा सूर्यबहादुर अध्यक्ष र महामन्त्री थिए कमल थापा । २०६० सालमा चन्द प्रधानमन्त्री हुँदा पोखरामा महाधिवेशन भयो । महाधिवेशनबाट नेतृत्वमा राणा पुगे । त्यतिवेला सूर्यबहादुर प्रधानमन्त्री र कमल थापा परराष्ट्रमन्त्री थिए । राणाले पार्टी सरकारबाट फिर्ता हुनुपर्छ भन्ने अडान लिए । तर, सूर्यबहादुरले अस्वीकार गरेपछि पार्टीमा महाामन्त्रीसमेत रहेका कमल थापालाई राणाले कारबाही गरी बर्खास्त गरे । सरकारविरुद्ध राणा सडकमा आएपछि सरकार ढल्यो । सरकार ढलेपछि सूर्यबहादुर राप्रपामा फर्किएर गएनन् । थापाले बृहत् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति गठन गरे । सो समितिमा कमल थापा, डा।प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङसहितका नेता सहभागी थिए । तर, कमल थापाले निरन्तता दिएनन् । बीचमै छाडेर उनी राणा नेतृत्वको राप्रपामा महामन्त्री बन्न पुगे । १९ माघ २०६१ को राजा ज्ञानेन्द्रको कदमलाई कमल थापाले समर्थन गरे । त्यसपछि उनी कारबाहीमा परे । कारबाहीमा परेका थापा २०६२ मंसिरमा राजाको सरकारको गृहमन्त्री बने ।

थापा अनुदार खेमाका

कमल थापालाई पञ्चायतमा अनुदार पक्षका रूपमा लिइन्थ्यो । दरबारका शरद्चन्द्र शाहसँग राम्रो सम्बन्ध भएका कारणले थापालाई दरबारनिकट भनेर चिनिने गरेको तमलोपा नेता शुक्लाको भनाइ छ । ‘खासमा कमल थापा पावरहंग्री, महत्वाकांक्षी र अवसरवादी हुन्,’ शुक्लाले भने ।

प्रजातन्त्रवादी राणा

दरबारसँग राम्रो सम्बन्ध नभएका राणालाई प्रजातन्त्रवादी नेताका रूपमा चिनिन्छ । पञ्चायतकालमा चन्द समूहलाई अनुदारवादी पक्ष मानिन्थ्यो । र, सोही समूहमा थिए राणा पनि । तर, पशुपतिशमशेर आफैँ भने प्रजातन्त्रवादी पक्ष देखिने गरेको शुक्लाको भनाइ छ । सोही कारण उनलाई भारतीय लबीको नेता भनेर आरोपित गर्ने गरिएको उनले बताए ।

थापाको छवि संगठक र वाकपटुता

कमल थापा पार्टीभित्र संगठकका रूपमा चिनिन्छन् । र, उनमा वाकपटुता क्षमता पनि छ । थापालाई निर्णय क्षमता भएका नेताका रूपमा चिन्ने गरिन्छ । थापालाई संगठक, वाकुपटता र निर्णय क्षमता भएका नेताका रूपमा लिनुपर्ने राप्रपाका सहप्रवक्ता किरण गिरीको भनाइ छ ।

राणामा निर्णयक्षमता कमजोर

राणाले राप्रपामा करिब १५ वर्ष पार्टी अध्यक्ष भएर नेतृत्व लिए । १ मंसिर २०६० मा पोखरा महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका उनले २०७३ सालसम्म निरन्तर पार्टी अध्यक्षका रूपमा नेतृत्व गरे । तर, पार्टीलाई निर्णायक रूपमा प्रस्तुत गर्न नसकेको भन्दै उनलाई निर्णय क्षमता कमजोर भएको आरोप लगाइयो । राणाले आफ्ना सहयोगीहरूको सल्लाहका आधारमा निर्णय लिने गरेको राप्रपाका नेताहरूको भनाइ छ । राप्रपाका पुराना नेता शुक्लाअनुसार राणाको बौद्धिकताबाट प्रभावित भएर नै कृष्णप्रसाद भट्टराईले उनलाई अन्तरिम सरकारमा मन्त्री बनाउने प्रयास गरेका थिए ।

राणाविरुद्ध थापाको आक्रोश
२५ साउन २०७३ मा राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति थियो । एकताको पक्षमा राणा र थापाले संयुक्त हस्ताक्षर गरेका थिए । सहमतिपत्रमै २५ साउनमा एकता गर्ने मिति तोकिएको थियो । तर, २४ साउनमा राणाले एकाएक विज्ञप्ति जारी गरेर तत्काल पार्टी एकता नहुने घोषणा गरे । २५ गते नयाँबानेश्वरको इन्द्रेणी फुडल्यान्डमा पत्रकार सम्मेलन गरी थापाले भारतीय प्रभावमा राणाले पार्टी एकता भाँडेको आरोप लगाए ।

६ मंसिरमा पार्टी एकता

२५ साउन २०७३ मा एकाएक भाँडिएको दुई राप्रपाबीच ६ मंसिर २०७३ मा एकता भयो । दुवै पक्षले कमजोर महसुस गरेपछि एकताका लागि तयार भएका हुन् । सौहार्दपूर्ण सम्बन्ध नभए पनि राजनीतिक मुद्दाले नजिक बनाएपछि एकता भएको राप्रपा नेताहरूको भनाइ छ । राणा राष्ट्रिय अध्यक्ष र पार्टी अध्यक्ष कमल थापा हुने गरी एकता भयो । हिन्दू धर्म र संघीयताको मुद्दामा दुवैबीच समान धारणा थियो । तर, राजतन्त्रको सन्दर्भमा भने फरक धारण छ । यो मुद्दा आउँदो महाधिवेशनबाट टुंगो लगाउने दुई नेताबीच सहमति भएको छ ।

योगेश ढकाल
नयाँ पत्रिकाबाट