काठमाडौं, ५ फागुन । एमालेले पार्टी केन्द्रीय सदस्य राधाकृष्ण मैनालीलाई कारबाही गर्ने निर्णय गरेको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार पार्टीका नेताविरुद्ध मैनालीले हुँदैनभएका ‘अन्डसन्ड’ कुरा लेखी अन्तर्वार्ता दिएर भ्रम सिर्जना गरेको आरोपमा कारबाही गर्ने निर्णय भएको हो ।
मैनालीका कुरा पार्टीले आधिकारिक रूपमा खण्डन गर्दै पार्टी विधानअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको पोलिटब्युरो सदस्य बेदुराम भुसालले जनाएका छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले बैठकमा कुरा उठाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमति जनाउँदै कारबाही प्रक्रिया अगाडि बढाउने निष्कर्ष बैठकले निकालेको हो ।
एमालेका संस्थापक नेता रहेका मैनालीले २०५९ सालमा पार्टी छाडेर तत्कालीन राजाको शाही कदमको समर्थन गरेका थिए । पछि उनी २०६१ सालमा पूर्वराजा ज्ञानेन्द्र शाहको सरकारमा मन्त्री पनि भएका थिए । गणतन्त्र स्थापनापछि माओवादी प्रवेश गरेका मैनाली एक वर्षअघि मात्र एमाले प्रवेश गरेका थिए ।
मैनालीले हालै सार्वजनिक गरेको ‘नलेखिएको इतिहास’ नामक आत्मकथामा व्यक्त गरेका दाबी र आरोपलाई एमालेले खारेज गर्दै उनीमाथि कारबाही गर्ने निष्कर्षमा पुगेको राजधानीमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्