राजनीति

झलनाथले बोले–जस्तो सुकै परिस्थिति सिर्जना भए पनि निर्वाचन रोकिदैन



विराटनगर१२,फागुन । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले निर्वाचनले मात्रै जनताका अधिकार स्थापित गर्ने भएकाले घोषित स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भने, “जस्तोसुकै परिस्थिति सिर्जना भए पनि निर्वाचन रोकिँदैन ।”

झण्डै दुई दशकदेखि स्थानीय निर्वाचन नहुँदा भ्रष्टाचार मौलाएको बताउँदै खनालले निर्वाचन जनताले चाहकाले नरोकिने प्रस्ट पारे ।

उनले मधेस र मधेसी जनताले समेत निर्वाचन चाहेकाले निर्धारित मितिमा निर्वाचन हुने दाबी गरे ।

“मधेस र मधेसी जनताको अधिकारसमेत निर्वाचनबाटै स्थापित हुन्छ,” खनालको भनाइ थियो, “निर्वाचन रोक्नु भनेको प्राप्त उपलब्धिमाथि धावा बोल्नु हो, जसरी हुन्छ निर्वाचन गराउनुपर्छ ।”

अहिलेको रुपान्तरित व्यवस्थापिका संसदलाई संविधान संशोधन गर्ने कुनै अधिकार नभएको भन्दै खनालले संविधान संशोधनभन्दा पनि निर्वाचनमा सहभागी भएर मधेस र मधेसी जनताका अधिकारलाई सुनिश्चित गर्न मधेस केन्द्रित दलहरूलाई आग्रह गरे ।

नेता खनालले चुनाव अहिलेको आवश्यकता भएकाले अहिलेको अवस्थामा संविधान संशोधनलाई थाँती राखेर चुनावमा सबै पक्ष केन्द्रित हुनुपर्नेमा जोड दिए ।